एकीकृत समाजवादी राष्ट्रिय दल बन्ने सम्भावना बढ्यो

काठमाडौँ, ११ मंसिर । प्रतिनिधिसभातर्फ जारी मतगणनामा नेकपा (एमाले)बाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) पनि राष्ट्रिय दल बन्ने सम्भावना बढेको छ ।

आइतबार बिहान ७ः४५ बजेसम्मको तथ्यांकअनुसार एकीकृत समाजवादीले २ लाख १४ हजार ७७५ समानुपातिक मत प्राप्त गरिसकेको छ । प्रत्यक्षतर्फ कम्तिमा एक सिट जितेर समानुपातिकतर्फ ‘थ्रेसहोल्ड’ माथि मत ल्याउने राजनीतिक पार्टीले राष्ट्रिय दलको मान्यता पाउने प्रावधान छ ।

जसअनुसार यसपटक मतदाताको कुल संख्या १ करोड ७९ लाख ८८ हजार हुँदा अनुमानित यसको ६० प्रतिशत मत खसेको भए कुल मतको संख्या १ करोड ७ लाख ९३ हजार १४२ हुन्छ । यसमा अनुमानित ९० प्रतिशत मत सदर भएमा कुल सदर मतको संख्या ९७ लाख १३ हजार ८२७ आसपास हुन्छ । अब यसको ३ प्रतिशत २ लाख ९१ हजार ४१५ आसपास हुन्छ ।

यसरी हेर्दा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कम्तीमा एउटा सिट जितेको दलले ३ लाखजति मत प्राप्त गरेमा उसले राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ ।

अघिल्लो हिसाबअनुसार थ्रेसहोल्ड पार गर्न २ लाख ९१ हजार ४१५ मत ल्याउनुपर्ने हुन्छ । यस आधारमा २ लाख १४ हजार ६७५ मत प्राप्त गरिसकेको एकीकृत समाजवादीले अब कम्तीमा ८० हजार र बढीमा एक लाख मत ल्याए राष्ट्रिय दल बन्ने सम्भावना छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति