सुवास नेम्वाङको संसदीय यात्रा

काठमाडौँ, ११ मंसिर । नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नम्बर २ बाट विजयी भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय ५ मत प्राप्त गरेका थिए ।

नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसद्को सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष/सभामुख र २०७२ सालमा सभामुख भएका थिए ।

विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य बनेका उनी त्यसलगत्तै पुनः राष्ट्रियसभा सदस्य भए । प्रतिनिधिसभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उनी संविधानसभा निर्वाचन २०६४ र २०७० मा इलाम २ बाट निर्वाचित भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ कानुन समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति भएका थिए ।

विसं २०५१ मा न्याय कानुन तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री भएका उनी सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री भए । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानुन व्यवसाय (वरिष्ठ अधिवक्ता) रहेका उनले पञ्चायती निरंकुशताविरुद्धको राजनीतिक आन्दोलनका क्रममा पटक–पटक सार्वजनिक सुरक्षा अन्तर्गत नजरबन्द परेका थिए । प्रधानमन्त्री तुलसी गिरीको पालामा चलाइएको राजकाज मुद्दामा सात महिना जेल परे ।

इलाम नगरपालिका ७ सुन्तलाबारीमा विस २००९ फागुन २८ गते जन्मिएका नेम्वाङले अनेरास्ववियूबाट राजनीतिमा प्रवेश गरेका थिए । उनी एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै नेकपा स्थायी कमिटी सदस्य २०७५ र २०४८ देखि लगातार सांसद छन् । बिए र बिएल गरेका नेम्वाङ प्राध्यापन, कानुन व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाएका हुन् । उनी प्राध्यापक संघमा पनि सक्रिय थिए भने उनी नेपाल बार एसोसिएसनको महासचिव पनि भए । राज्यबाट उनलाई संविधानसभा पदक, राष्ट्र गौरव पदक प्राप्त छ । गणेशमानसिंह प्रतिष्ठानले उनलाई गणेशमानसिंह जनआन्दोलन स्वर्ण पदक प्रदान गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board