काठमाडौँ, ११ मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएको सात दिन पूरा हुँदा पनि प्रत्यक्षतर्फको मतपरिणामसँगै समानुपातिकतर्फको पनि मतगणना जारी छ । प्रतिनिधिसभाको प्रत्यक्षसम्म एक सय ५४ निर्वाचन क्षेत्रको मतपरिणाम टुंगो लागिसकेको छ भने समानुपातिकतर्फ कुन दलले कति सिट पाउने टुंगो लागेको छैन ।
निर्वाचन आयोगका अनुसार शनिबार राति ११ बजेसम्म समानुपातिकतर्फ ८० लाख ५० हजार ५१० मतगणना भइसकेको छ । जसमा नेकपा (एमाले)ले अग्रता कायम राखेको छ । एमालेले सबैभन्दा बढी २२ लाख २३ हजार ८८१ मत प्राप्त गरेको छ ।
दोस्रो स्थानमा रहेको रहेको नेपाली कांग्रेसले २१ लाख २८ हजार ५७३ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले नौ लाख ३३ हजार ७३८ मत प्राप्त गरेको छ ।
आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले नौ लाख ९६७ मत प्राप्त गरेको छ । भने राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख ७७ हजार ३०२ र जनता समाजवादी पार्टीले दुई लाख ६० हजार २९२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी जनमत पार्टीले एक लाख ९६ हजार ४६, नागरिक उन्मुक्ति पार्टीले एक लाख ९० हजार १४३ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख आठ हजार ३३ मत, नेपाल मजदुर किसान पार्टीले ६९ हजार ८५ मत प्राप्त गरेको आयोगको तथ्यांक छ ।
हाम्रो नेपाल पार्टीले ४७ हजार १७६, राष्ट्रिय जनमोर्चाले ४२ हजार ५३, मंगोल नेसनल अर्गनाइजेसनले ४१ हजार ७७४, नेपाल संघीय समाजवादी पार्टीले २४ हजार ३८० र नेकपा (माले) ले २३ महार ३२८ मत प्राप्त गरेका छन् भने नेसनलिष्ट पिपल्स पार्टीले एक हजार दुई सय नौ मत प्राप्त गरेको छ ।
नेकपा (एकीकृत समाजवादी)ले कटायो दुई लाख
नेकपा (एकीकृत समाजवादी)ले समानुपातिकतर्फ दुई लाख मत कटाएको छ । निर्वाचन आयोगका अनुसार पार्टीले दुई लाख सात हजार २७३ मत प्राप्त गरेको छ । समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेसहोल्ड नपुर्याए राष्ट्रिय पार्टी बन्छ कि बन्दैन भन्ने संशय पैदा भइरहेका बेला पार्टीले दुई लाख बढी मत प्राप्त गरिसकेको छ ।
एकीकृत समाजवादीका नेता डा.बेदुराम भुषालले समानुपातिकतर्फ अपेक्षा गरेभन्दा कम मत प्राप्त भएको बताए । “हाम्रो पार्टीले समानुपातिकतर्फ कम मत प्राप्त गरेको छ, यो हाम्रो अपेक्षाभन्दा कम मत हो”, उनले भने, “सबै स्थानको मतगणना भइसक्दा थ्रेसहोल्ड कट्छ भन्नेमा विश्वास छ ।”
नेता भुषालले प्रत्यक्षतर्फ भने पार्टीले सकारात्मक परिणाम हासिल गरेको बताए । यद्यपि, मकवानपुर–२, काठमाडौँ–८ र ललितपुर–२ मा भने अपेक्षित नतिजा नआएको उनको भनाइ छ ।
निर्वाचन आयोगका अनुसार मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कुल ६१ प्रतिशत मत खसेको थियो । समानुपातिक निर्वाचन प्रणालीमार्फत् ११० प्रतिनिधिसभा सदस्य चुनिने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार १९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ ।
प्रतिक्रिया