पोखरा, ९ मंसिर । गण्डकी प्रदेशबाट यसपालि राष्ट्रिय राजनीतिमै प्रभाव छेड्न सक्ने ‘हेभिवेट’ उम्मेदवार निर्वाचित भएका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीसम्म निर्वाचित भए । प्रचण्ड गोरखाबाट निर्वाचित हुँदा केसी बागलुङबाट सांसदमा निर्वाचित भए । लमजुङबाट एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बाजी मारे ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट निर्वाचित भएका छन् भने नवलपुरबाट कांग्रेस नेता डा.शशांक कोइरालाले लगातार चौथो पटक निर्वाचन जिते । बागलुङबाट शिक्षामन्त्रीसमेत रहेका माओवादी नेता देवेन्द्र पौडेल विजयी भएका छन् ।
प्रचण्ड पहिलो पटक गण्डकीबाट चुनाव जितेका हुन् । गोरखा २ बाट चुनाव लडेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीलाई १३ हजारभन्दा बढी मत अन्तरले हराए । रामचन्द्र पौडेलले तनहुँ १ बाट एमालेका एकबहादुर रानालाई ६ हजार मतान्तरले हराए ।
गण्डकीका संस्थापक मुख्यमन्त्रीसमेत रहेका एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट चुनाव जितेका छन् । उनले माओवादी केन्द्रका महासचिव देव गुरुङलाइ ३ हजार २०० भन्दा बढी मत अन्तरले पराजित गरेका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बागलुङ १ मा एमालेका सूर्य पाठकलाई २ हजार ६२६ मतान्तरले हराउँदै संसद यात्रा तय गरेका छन् ।
नवलपुर क्षेत्र १ बाट कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले जित दोहोर्याए । उनले एमालेका कृष्ण पौडललाई करिब २ हजार मत बढी ल्याएर हराएका हुन् । बागलुङ २ बाट माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले एमाले उम्मेदवार मन्जु शर्मालाई ३ हजार बढी मतान्तरले पराजीत गरे ।
गण्डकीबाट प्रतिनिधिसभाका लागि १८ क्षेत्रमध्ये हालसम्म १७ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भैसकेको छ । हालसम्म नेपाली कांग्रेसले ९ सिटमा चुनाव जितेको छ भने एमालेले ५ सिटमा जित निकाल्यो । २ सिटमा माओवादी र १ सिटमा जनमोर्चा विजयी भएको छ ।
प्रतिक्रिया