बैतडीबाट एमालेका भण्डारीको ‘ह्याट्रिक’

बैतडी, ८ मंसिर । बैतडीबाट प्रतिनिधिसभा सांसदमा नेकपा (एमाले)का दामोदर भण्डारी विजयी भएका छन् । पार्टी प्रदेश अध्यक्षसमेत रहेका भण्डारीले तेश्रो पटक पनि जित हासिल गरेका हुन् । 

उनले २०७०को संविधानसभा निर्वाचन, २०७४ को प्रतिनिधिसभा र २०७९को प्रतिनिधिसभा निर्वाचनमा लगातार जित हासिल गरेका हुन् । 

भण्डारी पहिलो पटक २०७० मा जित हासिल गर्दा अर्थराज्यमन्त्रीसमेत बनेका थिए । उनले गठबन्धनका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नरेन्द्र कुँवरलाई पराजित गरेका हुन् । 

भण्डारीले ३३ हजार ६११ मत प्राप्त गर्दा कुँवरको ३२ हजार ८० मत रहेको छ । भण्डारी २०६४ सालमा कुँवरसँगै पराजित भएका थिए । २०७०मा कुँवरलाई नै हराएका भण्डारी २०७४ मा भने वाम गठबन्धन हुँदा कुँवर समेतको साथले जितेका थिए । अहिले फेरि कुँवरसँगको भिडन्तमा उनी विजयी भएका हुन् ।  

यसैगरी बैतडी प्रदेशसभा (क)मा पनि एमालेकै सुरेन्द्र पालले विजय हासिल गरेका छन् । उनले १२ हजार ८३१ मतसहित निर्वाचित हुँदा स्वतन्त्र उम्मेदवार हरि मोहन भण्डारीले ११ हजार १८ मत पाए भने गठबन्धनका कांग्रेस उम्मेदवार वीरबहादुर बिष्टले १० हजार ९५३ मत ल्याएका छन् । 

प्रदेशसभा क्षेत्र (ख) मा भने गठबन्धनका कांग्रेस उम्मेदवार शिवराज भट्ट विजयी भएका छन् । उनले १७ हजार १५२ मत ल्याई निर्वाचित हुँदा एमालेका लीलाधर भट्टले १६ हजार ७१६ मत प्राप्त गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board