यी चार चर्चित अनुहार जसले जमानत जोगाउन सकेनन्

काठमाडौँ, ८ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ । यस पटकको परिणाम विगतका निर्वाचनभन्दा भिन्न रहेको राजनीतिक विश्लेषकहरूको तर्क छ ।

यस पटकको निर्वाचनले कतिपय नयाँ अनुहार र दललाई चिनाएको छ भने, कतिपय चर्चित अनुहारले हार व्यहोरेका छन् । केही चर्चित उम्मेदवारको त जमानतसमेत जफत भएको छ । 

जमानत जफत हुनेहरूमा पूर्वमन्त्रीदेखि पूर्वराज्यमन्त्रीसम्म छन् । नेपाल सरकारका मन्त्री भइसकेका जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठले पनि जमानत जोगाउन सकेनन् । काठमाडौँ ७ बाट उम्मेदवार रहेका श्रेष्ठले कुल सदर मतको ६.८ प्रतिशत मात्र मत प्राप्त गरेका छन् । सो निर्वाचन क्षेत्रमा कुल ३६ हजार ६१ मत सदर भएको थियो । 

यस्तै, सोही क्षेत्रमा उम्मेदवार रहेका तथा यसअघि संघीय सरकारको राज्यमन्त्री भइसकेका रामवीर मानन्धरको समेत जमानत जफत भएको छ । उनले कूल सदर मतको ३.४ प्रतिशत मत प्राप्त गरेका छन्  । 

जमानत जफत हुनेमा यसअघि विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य र  हाल काठमाडौँ ५ बाट स्वतन्त्र उम्मेदवारी दिएकी रन्जु दर्शना छन् । प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार दर्शनाले खसेको कुल सदर मतको जम्मा १.४ प्रतिशत मात्रै मत पाएकी छिन् । काठमाडौँ ५ मा सदर मत ४४ हजार २४९ छ । 

रन्जुले जम्मा ६ सय मत मात्र प्राप्त गरेपछि जमानत जफत भएको हो । ०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आएकी दर्शनाले उक्त निर्वाचनमा २३ हजार चार सय  ३९ मत ल्याएकी थिइन् । 

विवेकशील साझाकै पूर्वसंयोजक मिलन पाण्डेको पनि जमानत जफत भएको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ ९ बाट स्वतन्त्र उम्मेदवार रहेका पाण्डेले कुल २ हजार ३२७ मत प्राप्त गरेका छन् । 

उक्त क्षेत्रको कुल सदर मत ४२ हजार ५१७ मतमा पाण्डेले २ हजार ३२७ मत प्राप्त गरेका छन् । यो कुल सदर मतको ५.५ प्रतिशत मत मात्रै हो । पाण्डेले ०७४ सालको निर्वाचनमा भने चार हजार नौ सय ४६ मत प्राप्त गरेका थिए ।

यद्यपि, यस पटक भने उनको जमानतसमेत जफत भएको छ । सदर मतको १० प्रतिशत मत ल्याउन नसके उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ । प्रतिनिधिसभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत १० हजार रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board