काठमाडाैँ, ८ मंसिर । काठमाडौँ निर्वाचन क्षेत्र नंम्बर ७ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै मत प्राप्त गरेको छ ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको गए राति सम्पन्न समानुपातिकको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले सात हजार ४३४ मत प्राप्त गरेको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन् ।
यस्तै, दोस्रो समानुपातिक मत नेकपा (एमाले)ले चार हजार ४६६, तेस्रो समानुपातिक मत नेपाली कांग्रेसले तीन हजार ७१०, चौथो समानुपातिक मत राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार ९६४ र पाँचौँ समानुपातिक मत नेकपा (माओवादी केन्द्र)ले एक हजार १५४ मत प्राप्त गरेको निर्वाचन अधिकृत श्रेष्ठले बताइन् ।
काठमाडौँको ठमेलदेखि नुवाकोटको ककनीसम्म फैलिएको उक्त निर्वाचन क्षेत्रमा २९ स्थानका ७१ मतदान केन्द्रमा मतदान भएको थियो । ६१ हजार २९२ मतदाता रहेको सो क्षेत्रमा समानुपातिकतर्फ कुल २६ हजार ४१७ मत खसेकोमा २५ हजार २१९ मत सदर र एक हजार १९८ मत बदर भएको थियो ।
यस्तै, सो क्षेत्रको प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले आठ हजार ७४३ मत ल्याई विजयी भएका थिए ।
प्रतिक्रिया