डडेल्धुरा, ७ मंसिर । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गरेका छन् । योसँगै उनले सातौँपटक जित हासिल गरेका हुन् ।
कुल ५१ हजार दुई सय तीन मतगणना हुँदा देउवा २५ हजार पाँच सय ३४ मतका साथ विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार नेपाली कांग्रेस (विपी)का कर्णबहादुर मल्लले सात हजार ५३५ मत प्राप्त गरेको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।
देउवा विसं २००३ जेठ ३१ गते डडेल्धुराको असिग्राम गाविस–५ मटेला, रुवाखोलामा जन्मिएका हुन् । विसं २०१७ देखि राजनीतिमा लागेका देउवा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको पहिलो निर्वाचित अध्यक्षसमेत हुन् ।
विसं २०४८ को आमचुनावमा देउवा डडेल्धुराबाट विजयी भए। देउवाले २०५१ र २०५६ को संसदीय चुनाव, विसं २०६४ र २०७० को संविधानसभा चुनाव तथा २०७४ को संसदीय चुनावमा डडेल्धुराबाट जितेका थिए । यसपटक सातौँपटक पनि डडेल्धुराका मतदाता तथा अन्य साथीहरूको सहयोगमा जित हासिल भएको कांंग्रेसका जिल्ला सचिव शेरबहादुर भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया