प्रहरी सवार जिप दुर्घटना : घाइते प्रहरीको उद्धारका लागि हेलिकोप्टर आउँदै

बैतडी, ५ मंसिर । जिप दुर्घटनामा परी घाइते भएका आठ प्रहरी र चालकको उद्धारका लागि हेलिकप्टर बोलाइएको छ ।

प्रहरी बोकेको जिप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको छ । उनीहरुको सनाखत हुन बाँकी रहेको छ ।

घाइते नौ जनाको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर बोलाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । उनले भने, “आठ प्रहरी र एक चालकको अवस्था गम्भीर छ”, “उनीहरूलाई उपचारको लागि कोहलपुर पठाउने तयारी छ”, “घाइतेलाई पाटन विमानस्थलमा ल्याएका छौँ, सेनाको हेलिकोप्टर आउँदै छ ।”

जिल्ला सदरमुकाममा मतपेटिका पुर्‍याएर फर्कदै गरेको प्रहरी टोली सवार जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ ।

रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ । जिपमा चालकसहित १२ जना सवार थिए । घटनाको थप अनुसन्धान भइरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board