बुटवल, १ मंसिर । गृहमन्त्री बालकृष्ण खाणले नेकपा (एमाले)र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को गठबन्धन अप्राकृतिक भएको र त्यसले दुर्घटना निम्त्याउन सक्ने बताएका छन् ।
आफूलाई अतिअग्रगामी बताउने एमाले र अतिपश्चगामी राप्रपाबीचको तालमेल कुनै पनि मानेमा मिल्न नसक्ने उनले बताए । सत्ता–गठबन्धनले आज बुटवलमा आयोजना गरेर पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री खाणले संघीय लोकतान्त्रिक गणतन्त्रको माला जप्ने एमाले र संघीयता विरोधी, राजसंस्था पुनःस्थापनाको मुद्दा लिएर हिँडेको राप्रपाबीचको तालमेल के कुरामा मिलेको हो भनी प्रश्न गरे ।
उनले अहिले पनि सत्ता गठबन्धन अगाडि रहेको बताउँदै गठबन्धनलाई सफल बनाउने ऐतिहासिक दायित्वबाट नचुक्न पनि पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।
रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गृहमन्त्री खाणले अन्य स्थानमा भन्दा रुपन्देहीमा गठबन्धनको आकार पनि ठुलो भएको भन्दै गठबन्धनलाई सक्षमताका साथ नेतृत्व दिनसक्ने हो भने जित निश्चित रहेको बताए ।
मन्त्री खाणले रुपन्देहीलाई देश विकासको मोडल बनाउने प्रतिबद्धता व्यक्त गरे । कांग्रेसकै नेतृत्वमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएको र अन्य ठुला योजनामा समेत कांग्रेसले नेतृत्व गरेको बताउँदै उनले आगामी दिनमा रुपन्देहीलाई उत्पादनको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया