मधेश प्रदेशमा नेका भन्दा आधाले जसपा पछि, २४ सिट क्लियर, ८ सिटमा चर्को प्रतिस्पर्धा, मुख्य व्याटल ग्राउण्ड सप्तरी –२


राविराज कात्तिक ३० । मधेस प्रदेशमा यसपटक चुनावी प्रतिस्पर्धा रोचक बनेको छ । मधेस विरोधी दल भनेर प्रचारित एमालेसँगै विगतमा मधेसमा ठूलो दल जनता समाजवादी पार्टी (जसपा)को तालमेल छ । सत्ता गठबन्धनतिर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपां) लागेका छन् । पछिल्लो समय मधेसमा तरंगित पारेको डा। सिके राउत नेतृत्वको पार्टी जनमत पार्टीको चर्चा पनि व्यापक छ । जसपालगायतका अन्य मधेस केन्द्रीत दल र नेताहरु काठमाडौं केन्द्रीत भएपछि जनमत पार्टीले एकलौटीजसो मधेसका मुद्दालाई उठाउँदै आन्दोलन गरेका कारण पनि मधेसमा अहिले जनमत पार्टीको चर्चा बढी देखिन्छ ।

*कलमको २ सिट हुनुपर्नेमा छुटेको छ ।

मधेसमा अहिले सबैभन्दा बढी चर्चित निर्वाचन क्षेत्रका रुपमा पनि जनमत पार्टीका अध्यक्ष राउत उठेको निर्वाचन क्षेत्र सप्तरी २ देखिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमतका अध्यक्ष राउतबीच प्रतिस्पर्धा भएकाले पनि धेरैको ध्यान अहिले सप्तरी २ तिर छ ।

त्यसो त रौतहट १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सर्लाही ४ मा कांग्रेसका विद्रोही उम्मेदवार अमरेश सिंह, यसअघि तनहुँ १ मा कांग्रेस नेता रामचन्द्र पौडेललाई पराजित गरेका कृष्णकुमार श्रेष्ठ किसान बारा ४ मा नेकपा एसको तर्फबाट उम्मेदवारी दिएकाले पनि यी क्षेत्रहरु पनि चर्चामा देखिएका छन् ।

त्यस्तै, मधेसका दुई हस्तीहरु महेन्द्र राय यादव र राजेन्द्र महतोले एकै क्षेत्रबाट उम्मेदवारी दिएका कारण सर्लाही २ उत्तिकै चर्चामा छ । त्यस्तै, ५ पटक मन्त्री बनेको माओवादी केन्द्रका गिरिराजमणी पोखरेलको उम्मेदवारी रहेको महोत्तरी १ पोखरेलका लागि तनावको क्षेत्र बन्न पुगेको छ । पटक पटक मन्त्री हुंदा आफन्त पोसेको आरोप उनले खेपिरहेका छन् ।

यसरी हेर्दा मधेस प्रदेशमा प्रतिनिधिसभा सदस्यमा जनमतले त्यो प्रदेशमा संघका लागि खाता खोलेमा नेकाले कम्तीमा ११– १४ सिट जित्न सक्छ । नेका बाहेकका दलहरुमा एमाले ३–५, लोसपा ३–४ र माकेले ३–४ सिट जित्न सक्ने देखिँदा जसपाले मुश्किलले ५ देखि ६ सिट जित्ने अवस्था रहेको छ ।

सप्तरीमा चुनावी सरगर्मी
चार निर्वाचन क्षेत्र रहेको सप्तरीको १ नम्बर क्षेत्रमा अहिले सत्ता गठबन्धनबाट कांग्रेसका रामदेव साह तेली उम्मेदवार छन् भने जसपा–एमालेका तर्फबाट नवलकिशोर साह (रामवावु) उम्मेदवार छन् । यो क्षेत्रमा जसपा–एमालेको गठबन्धन अगाडि देखिएको छ । यो क्षेत्रमा २०७४ मा तत्कालीन ससफो हाल जसपाका सूर्यनारायण यादवले २१ हजार ७१२ मतका साथ विजयी भएका थिए ।
उपेन्द्रमाथि सिके राउत हावी

त्यस्तै, सप्तरी २ अहिले मधेस प्रदेशमा सबैभन्दा बढी चर्चा रहेको क्षेत्र हो । यहाँ जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत चुनावी मैदानमा छन् । यहाँ उनीहरुबीच नै कडा प्रतिस्पर्धा देखिएको छ । यहाँ सत्ता गठबन्धनबाट लोसपाका जयप्रकाश ठाकुरले टिकट पाएका छन् । उनी यसअघिको निर्वाचनमा स्वतन्त्र उठेर ठाकुरले ९ हजार ४५९ मत ल्याएका थिए । यो क्षेत्रमा जसपाका यादवले २१ हजार ६०४ मत ल्याएर यसअघि जितेका थिए । त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चित छ ।
यादव आफूलाई हराउन देशी विदेशी शक्ति केन्द्र लागि परेको भन्दै चिन्ता व्यक्त गरे ।

सप्तरी ३ मा सत्ता गठबन्धनबाट नेकाका दिनेशकुमार यादव र एमालेका ताराकान्त चौधरी उम्मेदवार छन् । यसअघि जसपाले जितेको सो क्षेत्रमा जसपाको साथ एमालेलाई छ । यो क्षेत्रमा सत्ता गठबन्धनका यादवभन्दा जसपा–एमाले गठबन्धनका चौधरी अगाडि देखिएका छन् ।

सप्तरी ४ मा सत्ता गठबन्धनबाट नेका तेजुलाल चौधरी, एमाले–जसपा तालमेल गर्दै जसपाका बलकिशोर यादव र जनमतका सुकदेवप्रसाद साह चुनावी प्रतिस्पर्धामा छन् । यसअघि पनि जितेका चौधरी अगाडि देखिए पनि एमाले–जसपाका यादवले कडा टक्कर दिने देखिन्छ । जनमतका साह पनि कमजोर छैनन् । यसबीचमा नेकाका चौधरी अगाडि देखिन्छ ।

सिरहा
सिरहा १ मा सत्ता गठबन्धनबाट नेकाका पदमनारायण चौधरी, एमालेका रामशंकर यादव र जपाका युगलकिशोर साहबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्रमा यसअघि नेकाका प्रदीप गिरिले जितेका थिए । यसपटक पनि नेका अगाडि देखिएको छ । यो क्षेत्रमा प्रदिप गिरिकी भाइबुहारी सरिता गिरि पनि स्वतन्त्र उम्मेदवार छन् ।

सिरहा २ मा उपसभामुख समेत भएकी नेकाका चित्रलेखा यादव, एमालेको समेत समर्थनमा जसपाका राजकिशोर यादव र जपाका विनोदकुमार यादव प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा चित्रलेखा अगाडि देखिएको छ ।

सिरहा ३ मा एमालेका लिलानाथ श्रेष्ठ र माकेका विश्वनाथ साहबीच प्रतिस्पर्धा देखिएको छ । यो क्षेत्रमा जसपाको समेत सहयोग रहेको एमालेका लागि जित सहज बनेको छ ।

त्यस्तै, सिरहा ४ मा एमाले–जसपा गठबन्धनबाट जसपाका विरेन्द्र महतो, जपाका विरेन्द्र साह र सत्ता गठबन्धनबाट एसका धर्मनाथ साहबीच चुनावी प्रतिस्पर्धा छ । यहाँ जसपाका महतो अगाडि देखिएपनि त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ ।

धनुषा
धनुषा १ मा सत्ता गठबन्धनबाट माकेका मात्रिकाप्रसाद यादव, जसपाका दिपक कार्की र जपाका किशोरीप्रसाद साहबीच प्रतिस्पर्धा छ । यो क्षेत्रमा माकेका यादव जित नजिक छ ।

धनुषा २ मा नेकाका रामकृष्ण यादव, जसपाका आनन्द यादव र नेकपा एसका रामचन्द्र झा लगायतका उम्मेदवार चुनावी मैदानमा छन् । यो क्षेत्रमा नेकाका रामकृष्ण र जसपा आनन्दबीच मुख्यप्रतिस्पर्धा देखिएको छ । यो क्षेत्रमा नेका अगाडि छ ।

धनुषा ३ मा लोसपाका अनिल झा, एमालेका जुली महतो, जपाका शम्भुनाथ साह लगायतका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा जुली सबैभन्दा अगाडि देखिएको छ ।

धनुषा ४ मा नेकाका महेन्द्र यादव, एमालेका रघुवीर महासेठ, जसपाका रामजन यादव लगायतको उम्मेदवारी छ । यो क्षेत्रमा नेकाका यादव र एमालेका महासेठबीच कडा प्रतिस्पर्धा देखिएको छ । चुनावी तालमेल गर्न अगुवाई गरेका महासेठलाई जसपाको पनि उम्मेदवारी रहेका कारण सकस देखिएको छ । यसो हुँदा कांग्रेसले बाजी मार्नसक्छ ।

महोत्तरी
पाँच पटकसम्म मन्त्री बनेका माकेका गिरिराजमणी पोखरेल यसपटक पनि महोत्तरी १ बाटै उम्मेवार छन् । उनीसँगको प्रतिस्पर्धामा एमालेका लक्ष्मी महतो छन् । त्यस्तै, जपाका राजकिशोर साह पनि प्रतिस्पधी देखिएको छ । माकेका पोखरेलले धेरैपटक मन्त्री भएर पनि आफ्नो क्षेत्रको विकास नगरेको आरोप छ । यसअघि पोखरेलका प्रमुख प्रतिस्पर्धी जसपाका महतो यसपटक एमालेबाट उम्मेदवार छन् । महतोको माहोल व्यापक बन्दै गरेपनि पोखरेल अगाडि छन् ।

त्यस्तै, महोत्तरी २ मा यसअघि पनि जितेका शरदसिंह भण्डारी सत्ता गठबन्धनको तर्फबाट लोसपाबाट उम्मेदवार छन् । भण्डारीलाई एमालेका रामपरीक्षण यादवले टक्कर दिनेछन् ।

महोत्तरी ३ मा लोसपाका अध्यक्ष महन्थ ठाकुर चुनावी प्रतिस्पर्धामा छन् । उनीसँग जसपाका हरिनारायण यादव प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनको साथ रहेकाले ठाकुर जित नजिक छ ।

यसैगरी, महोत्तरी ४ मा नेकाका महेन्द्रकुमार राय र जसपाका सुरेन्द्रकुमार यादवबीच प्रतिस्पर्धा छ । जसपाका यादवले नेकाका रायलाई उछिन्ने देखिएको छ ।

सर्लाही
सर्लाही १ मा जसपाका प्रमोद साह र नेकाका रामप्रकाश चौधरीबीच कडा प्रधिस्पर्धा हुने देखिएको छ । यहाँ यसअघि पनि जितेका र अहिले एमालेको समेत साथ पाएका साह चौधरीभन्दा अघि छ ।

सर्लाही २ मा सत्ता गठबन्धनबीचमै प्रतिस्पर्धा देखिएको छ । माकेबाट महेन्द्र राय यादव, लोसपाका राजेन्द्र महतोबीच प्रतिस्पर्धा देखिएको छ । महतो र यादवबीच प्रतिस्पर्धा चलिरहँदा एमालेका राजनारायण साहको माहोल बन्दैछ । यो क्षेत्रमा महतोको बढी सम्भावना छ ।

सर्लाही ३ मा माकेका नरेश साह कलवार र एमालेका हरिप्रसाद उप्रेतीबीच प्रतिस्पर्धा छ । यो क्षेत्रमा साह अगाडि देखिएको छ ।

सर्लाही ४ मा सत्ता गठबन्धनबाट नेकाका नागेन्द्र कुमार चुनावी मैदानमा छन् । सो क्षेत्रमा एमालेबाट पूर्वपत्रकार समेत रहेका राकेश कुमार मिश्र र स्वतन्त्र उम्मेदवार अमरेश सिंहले नागेन्द्रलाई टक्कर दिइरहेका छन् । १ नम्बर क्षेत्रबाट आएर २ नम्बरमा उठेका नागेन्द्रका लागि यसअघि नेकाबाट जितेका अरमेरेश प्रमुख प्रतिस्पधी बन्ने देखिएको छ ।

रौतहट
रौतहट १ मा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल चुनावी मैदानमा छन् । नेपाललाई एमालेका अजयकुमार गुप्ताले टक्कर दिइरहेका छन् । सत्ता गठबन्धनको साथ रहेका नेपाल जित नजिक देखिएको छ ।

रौतहट २ मा नेकाका मो फिरदोस आलम र जसपाका शैलेन्द्र साहबीच मुख्य प्रतिस्पर्धा छ । यो क्षेत्रबाट यसघि चुनाव जितेका र ज्यान मुद्दामा जेलमा रहेका मोहम्मद अफताव आलमका छोरा फिरदोस अगाडि देखिएको छ ।

त्यस्तै, यसअघि माओवादी केन्द्रबाट जितेका प्रभु साह रौतहट ३ मा यसपटक भने स्वतन्त्र उम्मेदवार छन् । उनको प्रमुख प्रतिस्पर्धीका रुपमा जपाका रामेश्वरप्रसाद यादवलाई हेरिएको छ । एमालेका विद्रोही उम्मेदवार बनेका साहलाई सत्ता गठबन्धनको साथ छ । उनलाई चुनाव जित्न सहज छ ।

रौतहटको क्षेत्र नं ४ मा सत्ता गठबन्धनबाट नेकाका उम्मेदवार देवप्रसाद तिमिल्सिना र एमालेका उद्धवप्रसाद रेग्मीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ नेकाका तिमिल्सिना अगाडि छ ।

बारा
बारा १ मा नेका र एमालेका प्रतिस्पर्धीबीचमा नै यसपटक पनि प्रतिस्पर्धा छ । नेकाका उमाकान्त चौधरी र एमालेका अच्युत मैनाली यसपटक पनि चुनावी प्रतिस्पर्धामा छन् । यसअघि २ हजार मतले जितेका चौधरीलाई यसपटक पनि मैनालीले धक्का दिइरहेका छन् । अगाडि भने चौधरी देखिएको छ ।

त्यस्तै, बारा २ मा यसअघिकै प्रतिस्पर्धीबीचमा यसपटक पनि चुनावी प्रतिस्पर्धा हुँदैछ । जसपाका रामसहायप्रसाद यादव र माकेका शिवचन्द्र प्रसाद कुशवाहबीच प्रतिस्पर्ध छ । यसअघि यादवले जितेका थिए । यसपपटक पनि उनै अघि देखिएका छन् ।

बारा ३ मा सत्ता गठबन्धनबाट लोसापका लालबाबु सिंह भुईहार, जसपाका रामवाबु कुमार यादव, एमालेका ज्वालाकुमारी साह लगायतका उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ जसपाका रामबाबु अघि देखिएका छन् ।

बारा ४ मा सत्ता गठबन्धनबाट नेकपा एसका कृष्णकुमार श्रेष्ठ र एमाले–जसपा गठबन्धनबाट एकवाल मियाबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । यसअघि तनहुँ १ मा एमालेको तर्फबाट रामचन्द्र पौडेललाई पराजित गरेका श्रेष्ठले जित्ने निश्चित जस्तै छ । तर, उनी बाराभन्दा बाहिरबाट आएको उम्मेदवार भन्दै सत्ता गठबन्धनमै आक्रोस पनि छ ।

पर्सा
पर्सा १ मा लोसपाका लक्ष्मण लाल कर्ण र जसपाका प्रदीप यादवबीच प्रतिस्पर्धा देखिएको छ । यहाँ लोसपाका कर्ण अघि मानिएको छ ।

पर्सा २ मा नेकाका अजयकुमार चौरसिया र जसपाका सुमेन्द्रकुमार कुर्मीबीच मुख्य प्रतिस्पर्धा छ । यो क्षेत्रमा नेकाका चौरसिया अघि देखिएको छ ।

पर्सा ३ मा नेकाका सुरेन्द्र प्रसाद चौधरी र एमालेका रामकुमार गुप्ताबीच प्रतिस्पर्धा छ । यहाँ नेकाका चौधरी अघि देखिएका छन् ।

पर्सा ४ मा नेकाका रमेश रिजाल र एमालेका जलिम मिया अन्सारी चुनावी प्रतिस्पर्धामा छन् । यहाँ पनि नेकाकै उम्मेदवार अगाडि देखिएका छन् ।

थप विश्लेषण पढ्न तल क्लिक गर्नुहोस्

१३२ सिटमा दलहरुको अवस्था क्लियर, ३३ सिटमा दलहरुबीच तीव्र प्रतिस्पर्धा, नेका ६१, एमाले ३७ र माके २५ सिट निश्चितप्राय\

प्रदेश १ का २८ क्षेत्रमा २२ क्षेत्र क्लियर, ६ मा प्रतिस्पर्धा, नेका र एमालेबीच झिनो अन्तर

https://www.youtube.com/@abcnewstvnepal

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board