संसद् पूर्ण कार्यकाल चल्छ, ओलीले जस्तो विघटन गर्दैनौँ : प्रधानमन्त्री देउवा 

सुर्खेत, २९ कात्तिक । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीलेजस्तो संसद विघटन नगरी पूरा कार्यकाल चलाउने बताएका छन् । सत्तारुढ गठबन्धनले मंगलबार सुर्खेतको मेहेलकुनामा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै  देउवाले संसद्मा संविधानको रक्षा र गणतन्त्रको संस्थागत हितका लागि गठबन्धनले जित्न आवश्यक रहेको बताए ।

उनले कानुनविपरीत ओलीले दुई पटक संसद विघटन गरेको आरोप पनि लगाए । ‘ओलीले संसद्लाई अंगभंग गर्न खोजे,’ उनले भने, ‘जनतालाई हामी के विश्वास दिलाउन चाहन्छौँ भने हामीले कुनै पनि हालतमा संसद् भंग गर्दैनौँ । संसद्लाई पूर्ण कार्यकाल राख्छौँ ।’ 

साथै देउवाले गठबन्धन १० देखि १५ वर्षसम्म कायम रहने बताएका छन् । यसका लागि कसैले शंका नगरेर गठबन्धनलाई विजयी गराउन उनको आग्रह छ । 

सोही कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ले गठबन्धन शान्ति सम्झौताकै निरन्तरता भएको बताए । देशमा राजनीतिक परिवर्तन अनुकूल आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहने उनले बताएका हुन् । 

‘हाम्रो संकल्प १५ वर्षसम्म गठबन्धन कायम राखेर लैजाने छ,’ उनले भने,‘ गठबन्धन १५ वर्ष जानेछ र देशमा शान्तिको नयाँ युगको सुरुवात हुने छ ।’

 प्रचण्डले परिवर्तनको रक्षाका लागि यो गठबन्धन भएको बताए । उनले संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी काम र सम्बृद्धिको लागि गठबन्धनको आवश्यक रहेको पनि बताए । उनले अब ओलीसँग सहकार्य नहुने पनि जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति