ओलीलाई प्रचण्डको प्रश्न : फेरि संविधान मिच्न बहुमत चाहियो ?

बैतडी, २४ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक क्रान्तिका लागि मंसिर ४ पछि गठबन्धन सरकार आवश्यक रहेको बताएका छन् ।

बुधबार संयुक्त लोकतान्त्रिक–वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, “आर्थिक क्रान्तिका लागि अहिलेको गठबन्धन गरिएको हो । जनचाहनाअनुसार गठबन्धनले काम गर्ने छ । अग्रगमनका पक्षमा सबैले खडा हुनुपर्छ । अहंकार र लोकतन्त्रवादीको लडाइँ चलेकाले लाकतन्त्रले जित्नुपर्छ ।”

अध्यक्ष प्रचण्डले कांग्रेस र माओवादी मिलेर देश समृद्ध बनाउनुपर्ने तर्क गरे । उनले भने, “म जनयुद्धमै रहेका बेला दाङबाट देउवासँग टेलिफोनमा कुरा भएको थियो, देशलाई शान्ति प्रक्रियामा लैजाउ भनेर कुरा भएको त्यसपछि शान्ति प्रक्रिया अगाडि बढेको हो । उतिबेलादेखि नै माओवादी र कांग्रेसबीच सहकार्य भएको हो ।”

उनले दुईतिहाइको सरकारको नेतृत्व गरेको तत्कालीन ओली सरकारले संविधान च्यातेको आरोप लगाए । उनले भने, “दुईपटक संसद् विघटन गर्ने ओली अहिले बहुमत चाहियो भनिरहेका छन् । फेरि किन बहुमत चाहिएको हो ? फेरि किन दिने संविधान मिच्न ? अधिकार कुन्ठित गर्न भोट दिनुपर्ने हो भनेर प्रतिप्रश्न गर्नुपर्छ ।”

उनले सुदूरपश्चिमको जीवनस्तर माथि उकास्न सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर बजेट बनाइने बताए ।

बैतडीमा वाम–लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) चुनावी मैदानमा रहेका छन् । प्रदेशसभा १ मा कांग्रेसका वीरबहादुर विष्ट र प्रदेशसभा २ मा कांग्रसका शिवराज भट्ट चुनावी मैदानमा छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति