झापा–३ मा सिटौला भर्सेस लिङ्देन, कसले मार्ला बाजी ?

झापा, २३ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ मुलुककै चासोको क्षेत्र बनेको छ । यो क्षेत्रमा नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् । यस क्षेत्रको चुनावी परिणामले राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने भएकाले अहिले सबैको ध्यान यसतर्फ केन्द्रित भएको छ ।

नेता सिटौलालाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को त्रिपक्षीय समर्थन छ भने राप्रपा अध्यक्ष लिङ्देनलाई नेकपा (एमाले)को दर्बिलो समर्थन छ । जसका कारण यो क्षेत्रमा दुवै पक्षको जित सुनिश्चित छैन ।

चुनाव लक्षित कार्यक्रममा दुवै नेताले आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन् । यो पाँच वर्षयता यो क्षेत्रमा विकासका नाममा केही काम नभएको भन्दै नेता सिटौला चुनावी अभियानमा झापा क्षेत्र नम्बर ३ लाई समृद्ध बनाउन आफूले जित्नै पर्ने बताउँदै आएका छन् ।

“यो क्षेत्रमा पाँच वर्षमा उल्लेख्य काम भएको छैन,” उनले भने, “जनताले विकास चाहेका छन्, यहाँका जनताको जनजीविका उकास्ने र विकासको मार्गमा डोहोर्‍याउन मैले जित्नुपर्छ ।” विकास र परिवर्तनको आकांक्षा राख्ने यस क्षेत्रका जनताको दर्बिलो समर्थन आफूलाई मिलिरहेको र सोही कारण पनि आफ्नो जित हुने उनी दाबी गर्छन् ।

स्थानीय आवश्यकतासँगै राष्ट्रिय एजेन्डासहित नेता सिटौला जनता माझमा गइरहेका छन् । मुलुकमा शान्ति स्थापना र संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नेता सिटौलाको ठहर छ । “संविधान निर्माणमा मैले धेरै काम गरेँ,” उनी भन्छन्, “अब म संविधानको पूर्ण कार्यान्वयनमा काम गर्छु ।”

“विपन्न, दलित, आदिवासी, जनसाधारणको जनजीविकासँग जोडिएका धेरै कुरा संविधानले इंगित गरेको छ, ” उनले भने, “संविधान त आयो अब त्यसको पूर्ण कार्यान्वयन हुन जरूरी छ ।” राष्ट्रिय तहका नीति निर्माणदेखि राष्ट्रिय आवश्यकताका विषयमा पहल गर्न आफू विजय भएर संसद्मा जान अत्यावश्यक रहेको सिटौलाको ठहर छ ।

यता, उम्मेदवार लिङ्देनले आफू यस क्षेत्रको जनतासँग हातमा हात र काँधमा काँध मिलाएर काम गरेको बताउँछन् । “मैले यस क्षेत्रको विकासका लागि धेरै काम गरेको छु,” उनले भने, “अझै धेरै काम गर्न बाँकी छ, त्यो पनि विस्तारै गर्दै जाने छु ।”

आफ्नो पाँच वर्षे संसदीय कार्यकालमा यस क्षेत्रका नदीले बर्सेनि गर्ने कटान र डुबान समाधान भएको उनको भनाइ छ । “सडक कालोपत्र, ग्राभेलका कम धेरै भएको छ,” उनले भने, “पुल पुलेसा, बाटाघाटा बनेका छन्, बन्ने क्रममा छन् ।”

हिन्दु राष्ट्र र राजतन्त्रको मूल राष्ट्रिय मुद्दाका साथ पार्टी अघि बढिरहेको उनले बताए । “कुशासनको अन्त्य गरेर भ्रष्टाचारमुक्त नेपाल बनाउने एजेन्डा राप्रपाको हो।” उनले भने । मुलुकमा यथास्थितिको अन्त्य चाहने पक्षले आफूलाई मत दिने उनको भनाइ छ । जनताको साथ र विश्वास नै आफ्नो जितको मुख्य आधार रहेको उनी बताउँछन् ।

लिङ्देनले गत २०७४ सालको निर्वाचनमा सिटौलालाई पराजित गरेका थिए । गत २०७४ को प्रतिनिधिसभा निर्वाचमा अध्यक्ष लिङ्देन ४४ हजार ६१४ मत ल्याएर विजयी भएका थिए भने सिटौलाले ३१ हजार १५९ मत ल्याएका थिए ।

झापा क्षेत्र नम्बर ३ अन्तर्गत भद्रपुर नगरपालिकाको वडा नम्बर १ देखि ८ सम्म, कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका, हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिका वडा नम्बर १० पर्छ । यस क्षेत्रमा २८ वडा र एक लाख ३१ हजार ४३२ मतदाता छन् ।

गत २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कचनकवलको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले, हल्दिबारीको अध्यक्ष र उपाध्यक्ष र उपाध्यक्ष दुवै राप्रपा र भद्रपुरमा नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा राप्रपाले जितेको छ । २८ वडामध्ये कांग्रेसले १६, राप्रपाले पाँच, एमाल ४, माओवादीले २ र एउटा वडा स्वतन्त्र उम्मदेवारले जितेका छन् ।

झापा–३ मा गत स्थानीय चुनावमा कांग्रेसले २१ हजार ७३५ मत ल्याएको थियो । दोस्रोमा एमालेले १७ हजार ६०० मत ल्याएको थियो । यहाँ लिङ्देनको दल राप्रपा भने तेस्रो शक्ति हो । राप्रपाले स्थानीय चुनावमा झन्डै एमालेकै जति १६ हजार ९२७ मत ल्याएको छ ।

माओवादी केन्द्र, जसपा, लोसपालगायत दलले धेरै मत ल्याएका छैनन् । माओवादीले जम्मा ४ हजार ८३५ मत ल्याएको थियो । जसपाले ४७४ र लोसपाले २०८ मत मात्रै ल्याएका थिए । नेकपा (एकीकृत समाजवादी)ले जम्मा १२ मत ल्याएको देखिन्छ ।

स्थानीय चुनावमा एमाले र राप्रपाले ल्याएको मत जोड्दा भने झापा ३ मा सिटौलालाई अप्ठेरो पर्ने देखिन्छ । एमाले र राप्रपाको मत जोड्दा ३३ हजार ९३३ पुग्छ । जबकि सत्ता गठबन्धनको मत जोड्दा २८ हजार हाराहारी देखिन्छ । यसरी सिटौला ५ हजार जति मत पछि देखिन्छन् । यो मत उनको व्यक्तिगत प्रभावको आधारमा तान्नुपर्ने हुन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति