प्रचण्डले भने– ओली सत्ता कब्जा गरेर बाँचुन्जेल बालुवाटारमै बस्न चाहन्थे

काठमाडौँ, २१ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धनले आगामी पाँच वर्षमात्र नभएर १५–२० वर्षसम्म निरन्तरता पाउन सक्ने बताएका छन् । निर्वाचनलगत्तै सत्ता गठबन्धन टुट्ने आशंका भइरहेका बेला प्रचण्डले राजनीतिक आवश्यकताका आधारमा गठबन्धन १५–२० वर्ष लम्बिने दाबी गरे ।

आइतबार अपरान्ह प्रचण्डले ‘आगामी चुनाव र वाम–लोकतान्त्रिक गठबन्धनको आवश्यकता’बारे केही वामपन्थी तथा लोकतान्त्रिक खेमाका बुद्धिजीविहरूसँगक छलफल गरेका थिए । प्रचण्डसँगको कुराकानीमा उनीहरूले गठबन्धनको निरन्तरताबारे चासो राखेका थिए ।

चुनावलगत्तै सत्ताको दाउपेचका कारण गठबन्धन टुट्न सक्ने आशंका र प्रचार भइरहेका बेला प्रचण्ड भने वर्तमान गठबन्धन अहिलेको चुनावमा मात्र होइन, अर्को चुनावसम्म पनि कायम रहनेमा विश्वस्त देखिए ।

आइतबारै एक जापानी सञ्चारमाध्यमसँगको कुराकानीमा प्रचण्डले वर्तमान सत्ता गठबन्धनले १५–२० वर्षसम्म निरन्तरता पाउने दाबी गरेका थिए ।

बुद्धिजीविहरूले गठबन्धनको भविष्यबारे जिज्ञाशा राखेपछि उनले जापानी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्ताको प्रसंग उल्लेख गर्दै ‘वर्तमान गठबन्धनले किन निरन्तरता पाउँछ’ भन्नेबारे आफ्नो तर्क पेस गर्न थाले । “स्थिरता, समृद्धि र संविधानको रक्षाका लागि बनेको हो यो,” प्रचण्डले भने, “मैले नै धेरै ज्ञान प्राप्त गरेपछि यो गठबन्धन निर्माण भएको बताउँदै आएको छु । मैले यसो भन्नुको धेरै गहिरो अर्थ छ, त्यसैले चुनावपछि गठबन्धन टुट्छ भन्ने आशंका र प्रचार सही होइन ।”

“केपी प्रवृत्तिलाई परास्त नगर्दासम्म यो गठबन्धन जारी रहन्छ,” उनले भने, “म आफैँले धेरै मेहनत गरेर बनेको गठबन्धन हो यो । धेरै मेहनत गरेर निर्माण भएकाले यसको आयु पनि लामै नै छ । १५–२० वर्षसम्म नै यो गबठन्धन जानुपर्छ र जान्छ पनि ।”

प्रधानमन्त्री छँदा ओली सत्ता कब्जा गर्ने योजनाका साथ अघि बढेको प्रचण्डको दाबी थियो । आफ्नो दाबीको पुष्ट्याइँका लागि उनले प्रधानमन्त्री निवास बालुवाटारमा निर्माण थालिएका दुई भवनहरूको प्रसंग निकाले । “ओली प्रधानमन्त्री छँदा त्यहाँ दुई ठुला–ठुला भवन निर्माण थालियो, प्रधानमन्त्री निवास भएकाले एउटासम्म बन्नु त ठिकै थियो । तर, अर्को भवन निर्माण भने रहस्यमय थियो,” यो प्रसंग उप्काउँदै गर्दा उनले नेकपा (एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उतिबेला भनेको एउटा प्रसंग सुनाए, “माधवजी उतिबेलै भन्नुहुन्थ्यो– सत्ता कब्जा गरेर बाँचुन्जेल बालुवाटारमै बस्ने गरी ओलीले यी घर बनाउन लगाएका हुन् ।”

नेता नेपालको दाबी समयक्रममा पुष्टि हुँदै गएको पनि उनले सुनाए । “मेरो कमजोरी भन्ने कि उदारता– प्रधानमन्त्री उनै भए, राष्ट्रपति पनि उनैले भनेका व्यक्तिलाई बनाइयो,” प्रचण्डले थपे, “धन्न सभामुख नछाडेर बुद्धि पुर्‍याइएछ । सभामुख पनि उनैले भने बमोजिम भएको भए उनले त पूरै सत्ता कब्जा गरिसकेका रहेछन् ।”

प्रचण्डको भनाइमा, कृष्णबहादुर महरालाई सभामुख बनाइँदा होस् वा अग्निप्रसाद सापकोटालाई बनाइँदा होस्, ओलीले निकै लामो समय सुवास नेम्वाङलाई सभामुख बनाउने प्रयास गरेका थिए । “मैले अन्तिमसम्म पनि सभामुखको विषयमा आफ्नो तर्फबाट अडान लिइरहेँ,” उनले भने, “नेकपा सचिवालय र स्थायी समिति दुवैतिर यो अडानको पक्षमा बहुमत जुट्यो, त्यसपछि मात्र ओली पछि हटे । तैपनि सभामुख छनोट गर्न डेढ महिना लाग्यो ।

उनले थपे, “भनिहालेँ– राष्ट्रपति पनि उनै, प्रधानमन्त्री पनि उनै । सबै संवैधानिक अंगमा आफ्नै मान्छे राखेका छन् । अदालतमा पनि सेटिङ गरेका छन् । सभामुख पनि उनैले भने बमोजिम भएको भए संसद्–संविधान सबै समाप्त गरेर सत्ता कब्जा गर्ने रहेछन् ।”

सत्ता कब्जा गर्ने र बाँचुञ्जेल बालुवाटारमा बसिरहने योजनाअनुसार नै ओलीले राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगेको दाबी उनले गरे ।

“तर, उनको योजनाविरूद्ध हामी सबै एकजुट भयौ,” उनले थपे, “ओली असफल भए । ओली प्रवृत्ति कति घातक छ भन्ने कुरा यसैबाट देखिन्छ । यो प्रवृत्तिलाई सधैँका लागि परास्त गर्न १५–२० वर्ष नै यो गठबन्धनले निरन्तरता पाउनु जरूरी छ ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति