लमजुङमा देव गुरुङ भर्सेस पृथ्वीसुब्बा, कसले मार्ला बाजी ?

लमजुङ, १९ कात्तिक । लमजुङमा एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ र नेकपा (एमाले) उपमहासचिव पृथ्वीसुब्बा गुरुङ संसद् छिर्ने लक्ष्यसहित त्यही क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन् ।

२०७४ सालमा लमजुङ प्रदेशसभा ‘ख’बाट लडेका पृथ्वीसुब्बा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री हुन् । उनी फेरि प्रदेशमै लड्न चाहन्थे । तर, अध्यक्ष केपी ओलीले उनलाई प्रतिनिधिसभाको टिकट थमाए ।

२०४८ सालयता देव चौथोपटक संसदीय चुनाव लड्न लागेका हुन् । २०४८ सालमा उनी संयुक्त जनमोर्चाबाट लमजुङ १ मा उम्मेदवार थिए । २०६४ सालको चुनावमा मनाङ र कास्की १ दुवै क्षेत्रबाट जितेका थिए । उनले त्यतिबेला मनाङ रोजे र कास्कीमा उपनिर्वाचन भयो । त्यसपछि देव २०७४ सालमा एमाले–माओवादी वाम गठबन्धनबाट लमजुङबाट प्रतिनिधिसभा सदस्य विजयी भए । अघिल्लोपटक देव गठबन्धनबाट संघमा लड्दा प्रदेशसभा लडेका पृथ्वीसुब्बा यसपटक उनैसँगै प्रतिस्पर्धामा छन् ।

पृथ्वीसुब्बा सातौँपटक संसदीय चुनाव लड्न लागेका हुन् । यसअघि ६ पटक चुनाव लड्दा उनले दुईपटक मात्र जितेका छन् । २०४८, २०५१, २०५६ सालको चुनाव हारेका पृथ्वीसुब्बा २०६४ सालमा पहिलो संविधानसभा सदस्य चुनावमा विजयी भएका थिए । २०७० सालको संविधानसभा सदस्य चुनावमा भने पराजित भए । २०७४ सालको चुनावमा प्रदेश सांसद विजयी भएर उनी गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री बनेका थिए । अहिले गठबन्धनको साथ पाएका देव र एमालेबाट उम्मेदवार बनेका पृथ्वीसुब्बाबीच कसले बाजी मार्छ भन्न सक्ने अवस्था छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति