गठबन्धनका कारण देशमा महंगी र भ्रष्टाचार : नेता विश्वकर्मा

बुटवल, १७ कात्तिक । नेकपा (एमाले)का सचिव छविलाल विश्वकर्माले सत्ता गठबन्धनका कारण देशमा महंगी र भ्रष्टचार बढेको बताएका छन् । उनले सत्ता गठबन्धनका नेताहरु निजी स्वार्थमा लाग्दा राष्ट्रियता कमजोर बन्दै गएको आरोप समेत लगाए ।

देवदह–२, मा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादीको संयुक्त प्रचार प्रसार कार्यालयको बुधबार उदघाटन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार विश्वकर्माले राष्ट्रको अहितमा काम गरेकाले सत्ता गठबन्धनलाई परास्त गर्ने बेला आएको बताए ।

रुपन्देहीको क्षेत्र नम्बर १ का विभिन्न स्थानलाई जोड्ने गरी सडक सञ्जालका योजनाहरु अगाडि बढेको बताउँदै एमाले सचिव विश्वकर्माले एमालेको सरकारले नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै ‘एक पालिकाः एक अस्पताल’को अवधारणा अगाडि सारेको बताए ।

उनले आफूले क्षेत्र नम्बर १ को विकासका लागि विभिन्न योजनाहरु अगाडि सारे पनि सत्तागठबन्धनले बजेट होल्ड गर्दा विकास निर्माणका कामहरु अगाडि बढ्न नसकेको बताए । उनले रोहिणी नदीलाई व्यवस्थित गर्नका लागि राष्ट्रिय योजनाको रुपमा अगाडि सार्नेमा जोड दिए ।

सोही अवसरमा बोल्दै एमालेका केन्द्रीय अनुशासन आयोगका सदस्य तथा संयुक्त निर्वाचन परिचालन कमिटीका संयोजक डा.कृष्णप्रसाद न्यौपानेले स्वतन्त्र उम्मेदवार घनश्याम भुसालमा राजनीतिक संस्कार नभएको आरोप लगाए । उनले पार्टीको जिम्मेवारीलाई छोडेर स्वतन्त्र रुपमा निर्वाचन लड्नेहरुलाई जनताले सवक सिकाउने बताए ।

उनले रुपन्देहीको क्षेत्र नम्बर १ को अधुरा योजना सम्पन्न गर्नका लागि एमाले, राप्रपा र जसपाका साझा उम्मेदवारलाई जिताउनु पर्नेमा जोड दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति