सिन्धुली । नेकपा एमालेका निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रदीप कटुवालले राजनीति व्यवसाय नभई सेवा भएको बताएका छन् ।
कमलामाई नगरपालिकाको वडा नं. १३ र १४ नेता कार्यकर्ता भेटघाटका क्रममा उनले आफू यही राजनीतिमा जनताको सेवा गर्न बर्षौदेखि जनताको माझमा रहेको बताए ।
आफूलाई यस क्षेत्रका जनताले फेरि पनि विश्वासको भारी बोकाउने र आफूले विकासका योजना ल्याउने विश्वास व्यक्त गरे । उनले भने, ‘म यहाँ आज फेरि कुनै अवसरका लागि आएको छैन, म निरन्तर जनताको घर आँगनमा रहेको छु, यस क्षेत्रको विकास र समृद्धिका लागि दिनरात नभनी खटिरहेको छु, जनताले यस क्षेत्रको विकासको आधारमा सूर्य चिन्हमा मतदान गर्नुहुनेछ ।’
कटुवालले देश निर्माणका लागि दक्ष जनशक्ति, कानुनी शासन, सुशासन, योग्य प्रशासन, इन्जिनियर आवश्यक भएको बताउँदै एमालेको नेतृत्वमा मात्र यी कुरा सम्भव भएको दाबी गर्नुभयो । देश विकासको गतिमा अघि बढेका बेला भाग्न खोज्नेहरूले भाग खाँदा अहिले देशको विकासको गति उल्टो गतिमा रहेको बताए ।
यतिवेला जनता मंहगी र आर्थिक अभावमा बाच्नु परेको बताए । उनले मङ्सिर ४ गते हुने निर्वाचनको माध्यमबाट दिगो लोकतन्त्र, संविधानको रक्षा गर्न, मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै देशलाई १० वर्षभित्रमा दक्षिण एसियाको धनी देशका रूपमा विकसित गर्नका लागि सूर्य चिन्हमा मतदान गर्नुपर्ने बताए ।
उनले भने, “म कसैलाई हराउन या जिताउन उम्मेदवार बनेको हैन, म हिजो पनि यही जनताको माझमा थिएँ, आज पनि छु, जनताले मलाई विश्वासका साथ मङ्सिर ४ मा सूर्य चिन्हमा भोट दिएर सुखी नेपाली समृद्ध नेपाल निर्माणमा एउटा–एउटा इँटा थप्नु हुनेछ भन्नेमा म विश्वस्त छु ।”
हरेक जनताको घर आँगनमा पुगी जनताकै स्वशासनलाई प्रत्याभूत गराई सुशासनमार्फत मूलकमा दिगो शान्ति, राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र लोकतन्त्रलाई सार्थक बनाउन सूर्यमा मतदान आवश्यक भएको बताए ।
प्रतिक्रिया