झापा, ११ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेको निर्वाचनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)लाई मिलाएर सरकार बनाउने बताएका छन् ।
झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका लागि शुक्रबार भोट माग्दै ओलीले यस्तो बताएका हुन् । उनले एमालेका साथमा रहेकाले आगामी निर्वाचनमा राष्ट्रिय पार्टीको हैसियत बनाएर सरकारमा सामेल हुने पनि जिकिर गरे ।
सम्बोधनका क्रममा ओलीले माधव नेपालहरूले खोलेको नेकपा (एकीकृत समाजवादी)को बिजोग हुने पनि बताए । “माधव नेपालहरूले खोलेको छ एउटा पार्टी, त्यसको कन्तबिजोग हुन्छ,” उनले भने, “त्यो राष्ट्रिय पार्टी हुँदैन । कोही साथी त्यो पार्टीमा हुनुहुन्छ भने आजैबाट छोडिदिनुस् ।”
अध्यक्ष ओलीले लोकतान्त्रिक समाजवादी पार्टीले पनि एमालेको साथ छाडेर राष्ट्रिय पार्टी बन्ने मौका गुमाएको टिप्पणी गरे । उनले भने, “लोसपा राष्ट्रिय पार्टी थियो, तर अब हुँदैन । एमालेको राष्ट्रियता उसले बोक्न सक्ने भएन, त्यसैले भाग्यो । अब राष्ट्रिय पार्टी हुनेवाला छैन ।”
उनले एमालेको बहुमत कसैले रोक्न नसक्ने बताए । उनले भने, “आउँदो निर्वाचनबाट नेकपा (एमाले)को बहुमत ल्याउँछ, कसैले रोक्न सक्दैन । तर, बहुमत आयो भनेर एक्लै सरकार बनाउने होइन, अरू सहयोगी र सहयात्रीलाई पनि साथमा लिएर सरकार बनाउँछ । राप्रपा र जसपासहितको सरकार बन्छ । त्यसपछि राजेन्द्र लिङ्देनलाई विकासको बारेमा प्रश्न गर्नुस्, अहिले होइन ।”
प्रतिक्रिया