यस्तो छ चीन हाक्ने सी चिनफिङको नयाँ टिम

काठमाडौँ, ८ कात्तिक । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)को शनिबार सकिएको २०औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिबाट चुनिएका सर्वोच्च नेता तथा पार्टी महासचिव सी चिनफिङको नयाँ कोर टिम आइतबार सार्वजनिक भएको छ ।

पार्टीको केन्द्रीय समितिबाट चयन हुने सात जनाको उक्त पोलिटब्युरो स्थायी समितिमा नयाँ चार नेता थपिएका छन् । आइतबार सार्वजनिक भएको सीको उक्त टिमबाट अब देशका प्रधानमन्त्री र राष्ट्रिय जनकंग्रेसका अध्यक्षसमेत परिवर्तन हुनेछन् ।

आगामी मार्चमा परिवर्तन हुने उल्लेखित पदहरूमा अब को रहने छ भन्ने पूर्वानुमान गर्न सकिने भएको छ ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले सार्वजनिक गरेको नयाँ पोलिटब्युरो स्थायी समितिमा महासचिव सी चिनफिङ (६९), ली चियाङ (६३), चाओ लेची (६५), वाङ हुनिङ (६७), काइ ची (६६), तिङ सुइसियाङ (६०) र ली सी (६६) छन् ।

यसअघि १९औँ राष्ट्रिय महाधिवेशनको वरीयता र अहिलेको वरीयतालाई तुलना गरेर नयाँ सरकारका पदाधिकारीहरूको अनुमान गर्न सकिन्छ । जसअनुसार अब ली चियाङ चीनका प्रधानमन्त्री हुनेछन् भने तेस्रो स्थानका चाओ लेची राष्ट्यि जनकंग्रेस अर्थात् संसद्को अध्यक्ष हुनेछन् ।

त्यस्तै, काइ ची पार्टी सचिवालयको प्रथम सेक्रेटरी र वाङ हुनिङले सल्लाहकार समिति अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् । ली सी भ्रष्टाचारविरोधी केन्द्रीय आयोग र अनुशासन आयोग प्रमुखको जिम्मेवारीमा रहनेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति