आयोगलाई माधव नेपालको जबाफ- फ्री भिसा, फ्री टिकट भनेको छैन

काठमाडौँ, ६ कात्तिक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा प्रतिनिधिसभा रौतहट निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार माधवकुमार नेपालले फ्री भिसा फ्री टिकट दिने भनेर मतदाता प्रभावित पार्ने अभिव्यक्ति नदिएको बताएका छन् ।

उनले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जबाफ आयोगलाई पठाउँदै निर्वाचन प्रचारको क्रममा आफूले कुनै मतदातालाई प्रलोभन देखाउने गरी अभिव्यक्ति नदिएको दाबी गरेका हुन् ।

‘पत्रमा भनिएजस्तो निर्वाचनको सिलसिलामा मैले कुनै उम्मेदवार वा मतदाता वा निजहरूमध्ये कसैको सरोकार वा स्वार्थ भएको कुनै व्यक्ति वा निर्वाचन अधिकृत वा निर्वाचनमा संलग्न कुनै कर्मचारीलाई कुनै किसिमको प्रभाव पार्ने कार्य गरेको छैन,’ नेता नेपालले चार बुँदे जबाफमा भनेका छन् । आफूले कसैलाई कुनै किसिमको लोभलालच वा आर्थिक प्रलोभन देखाउन कुनै कामकारबाही नगरेको उनको प्रष्टोक्ति छ ।

निर्वाचन आयोगले निर्वाचन प्रचारको क्रममा नेता नेपालले आचारसंहिता उल्लंघन हुनेगरी मतदातालाई फ्री भिसा र फ्री टिकटको प्रलोभन देखाएको भन्दै कात्तिक ३ गते स्पष्टीकरण सोधेको थियो ।

नेपालले जनसमक्ष आफ्नो विचार राख्ने कुरा संविधान प्रदत्त राजनीतिक दलले प्रयोग गर्न पाउने अधिकार भएकाले आफूले सोही अनुसार गरेको समेत बताएका छन् । नेता नेपालले केही दिन पहिला रौतहटमा भएको कार्यक्रममा फ्री भिसा, फ्री टिकट र काठमाडौंमा फ्रि तालिम भनेको भिडियो सार्वजनिक भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति