हामी ‘अराष्ट्रवादी’ र राजवादी ‘राष्ट्रवादी’ भन्ने, त्यो पनि कहिं हुन्छ ? : प्रम देउवा

काठमाडौं ४ कात्तिक । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राप्त उपलब्धिहरू संघीयता, गणतन्त्र, समावेशीताप्रतिगमनकारी एमालेका कारण खतरामा परेकोले त्यसको रक्षा गर्न गठबन्धनले निर्वाचन जित्नु पर्ने आवश्यकता रहेको बताएका छन् ।

प्राप्त उपलब्धि बचाउनका लागि संविधानको रक्षा गर्नुपर्ने उनले बताए। आज लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनले गरेको भेलामा बोल्दै प्रधानमन्त्री देउवाले प्राप्त उपलब्धिको खिलापमा एउटा शक्ति लागिपरेको बताए।
‘गठबन्धनका खिलापमा तागत लागिपरेको छ। राजावादी तागत नै राष्ट्रवादी भन्न थालिसके, हद हुन्छ नि ,’ उनले भने, ‘हामी अराष्ट्रिय ? देशका लागि लडेर परिवर्तन ल्याउने हामी अनि अराष्ट्रियरु राजावादी राष्ट्रवादी भन्ने होइन।’

उनले राष्ट्रवादी, प्रजातन्त्रवादी र समाजवादी आफूहरू रहेको बताए। ‘असली मानेमा राष्ट्रवादी, प्रजातन्त्रवादी र समाजवादी हामी हौं। त्यसैले जय नेपाल, लालसलाम र अभिवादन गर्छौं,’ उनले भने।
उनले लडाइँ लडेर ल्याएको संविधानसभा र त्यसबाट बनेको संविधान तथा गणतन्त्र एवं संघीय व्यवस्थालाई कमजोर बनाउन केही शक्ति लागिपरेको पनि बताएका थिए।
‘अहिलेको प्रणालीलाई खतम पार्न र गणतन्त्र, समावेशीतालाई कमजोर पार्ने प्रयास भइरहेका छन्। नेपाल महत्वपूर्ण मोडमा छ। परिवर्तनकारी शक्ति हामी हौं, मिलेर अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘मलाई साथीहरूले प्रधानमन्त्री बनाउनुभयो। गठबन्धनलाई झन् बलियो बनाउने कर्तव्य कांग्रेसमाथि छ।’

उनले गठबन्धन बचाउनु अति आवश्यक रहेको पनि बताएका थिए। उनले कुनै पनि शंका र उपशंका नराख्न पनि आग्रह गरेका थिए।
‘अझै केही वर्ष नेपालमा समावेशीता, संविधान, गणतन्त्र बचाउन गठबन्धन आवश्यक छ,’ उनले भने।
गठबन्धन छ, जितिहाल्छु भन्ने सोचले धेरैले टिकट मागेको र उम्मेवार हुन चाहेको बताउँदै उनले सबैलाई टिकट दिन नसकिने बताएका थिए। टिकट नपाएकाहरूलाई पार्टीले पछि भूमिका दिने उनको भनाइ थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति