पूर्वसचिव भीम उपाध्यायकी श्रीमती ‘हाम्रो नेपाली पार्टी’ बाट समानुपातिक उम्मेदवार

काठमाडौँ, ४ कात्तिक । पूर्वसचिव भीम उपाध्यायले सामाजिक सञ्जालमा प्रमुख दल र तिनका नेताहरूप्रति विष वमन गर्दै लेख्दै आएका छन् । पूर्वसचिव उपाध्याय आगामी निर्वाचनमा ठुला दल र शीर्ष नेता हराउ अभियानमा लागेका छन् । उनी सुरुदेखि नै स्वतन्त्र उम्मेदवारको पक्षमा प्रचार प्रसार गरिरहेका छन् ।

तर, उनी आफैँले भने श्रीमतीलाई समानुपातिक उम्मेदवार बनाएका छन् । उनकी श्रीमती ललिता उपाध्याय सुमन सायमी नेतृत्वको ‘हाम्रो नेपाली पार्टी’ बाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेकी छन् । उनलाई खसआर्यतर्फ ललितपुरबाट बन्दसूचीको दोस्रो नम्बरमा सिफारिस गरिएको छ । उनको मतदाता नम्बर ५७८५३८३ रहेको छ । प्रमुख दल र तिनका नेताहरूको सत्तोश्राप गर्ने उपाध्यायले श्रीमतीलाई सांसद बनाउनकै लागि स्वतन्त्र उम्मेदवारको पक्षपोषण गर्ने गरेको तथ्य खुलेको छ ।

सुरु सुरुमा सुमन सायमी स्वतन्त्र उम्मेदवार भन्दै प्रचार प्रसारमा लागेका थिए । तर, उम्मेदवारी मनोनयन गर्ने अन्तिम दिन उनले काठमाडौँ–८ बाट प्रतिनिधिसभा सदस्यमा हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका थिए ।

पूर्वप्रशासक उपाध्यायले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सुमन सायमी र बालेन्द्र साह बालेनको निकै प्रचार प्रसार गरेका थिए । सायमी काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार थिए ।

पछिल्लो समय काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको कार्यशैलीको उपाध्यायले विरोध गर्दै आएका छन् । प्रतिनिधिसभाको निर्वाचनमा बालेनले सुमन सायमीको प्रचार गर्ने अपेक्षा उपाध्यायलाई थियो । तर, बालेन कतै कुनै उम्मेदवारको पक्षमा देखिएका छैनन् । त्यही भएर उपाध्यायले बालेनको विरोध गर्न थालेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति