मंसिर ४ को ‘ब्याटल’ जसरी पनि गठबन्धनले जित्नुपर्छ : प्रचण्ड

काठमाडौँ, ४ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ को चुनाव संविधानको रक्षा, स्थिरता र समृद्धिका पक्षधरले जित्नुपर्ने बताएका छन् ।

शुक्रबार राजधानीमा भएको सत्ता गठबन्धनको चियापान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मंसिर ४ को चुनाव सामान्य निर्वाचन नभएको भन्दै देशको संविधान मिच्नेहरूलाई पाखा लगाउन कार्यकर्ता अहोरात्र खटिएर चुनावी ब्याट गठबन्धनलाई जिताउन जोड दिए ।

उनले मंसिर ४ गते देशमा अराजक निम्त्याउने, देशलाई निरंकुशताको भुमरीमा धकेल्ने शक्ति र अग्रगमनकारी बीचको लडाइँ भएकाले दुई वटा गठबन्धनबीच ब्याटल हुने र त्यसको ब्याटल आफूहरूले जित्नुपर्ने बताए ।

“यो चुनावमा दुईवटा गठबन्धन आमने सामने भएका छन् । एउटा पश्चगमनतिर अर्को अग्रगमतिर । एउटा संविधान मास्नेतिर र अर्को संविधान रक्षा गर्ने पक्षमा । त्यसकार मंसिर ४ को निर्वाचन सामान्य अवस्थाको जस्तो छैन,” उनले भने,“देशले जित्ने हो कि होइन । संविधान र लोकतन्त्रले जित्ने हो कि होइन जनताले जबाफ दिने बेला भएको छ ।”

उनले यी कुरा जनतालाई सत्ता गठबन्धनका नेताहरूले राम्रोसँग बुझाउनुपर्ने बताए । परिवर्तन र उपलब्धि रक्षा गर्नुपर्ने पनि उनले बताए ।

उनले काठमाडौँ क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार मानुषी यमी भट्टराईको प्रशंसा गर्दै डाइनामिक लिडर भएको बताए ।

“मानुषीजस्ता इनर्जेटिक मान्छे भएकाले संविधानलाई परिमार्जन गर्न भूमिका खेल्छ,” उनले भने, “म बच्चैदेखि चिन्छु मानुषीलाई, उहाँमा समर्पित भएर मेहनत गरेर लाग्ने गुण छ भन्ने मैले बच्चैदेखि थाहा पाएको हुँ ।”

मानुषी काठमाडौँ–७ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि साझा उम्मेदवार बनेकी छन् । उनीसहितको टिमले काठमाडौँ–७ को विकासमा टेवा पुर्‍याउने दाबी गर्दै प्रचण्डले गठबन्धन अहिलेको अवश्यकता भएको जिकिर गरे ।

गठबन्धन दलका विषयमा विभिन्न चर्चा भएको भन्दै कांग्रेससँग सहकार्यमा मात्र अहिलेसम्मका परिवर्तनहरू सम्भव भएको प्रचण्डको भनाइ छ ।

“विभिन्न किसिमका प्रचार भइरहेका छन्, हामीले यो गठबन्धन अहिलेमात्र बनेको जसरी बुझ्न उचित हुँदैन । ०४६ सालको आन्दोलन कम्युनिस्ट र नेपाली कांग्रेसको सहकार्यमा नै सम्भव भएको हो,” प्रचण्डले भने,“त्यसपछि नयाँ युगतिर देशलाई लैजानका लागि सम्भव भएको हो ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति