भाइरल प्रभावित क्षेत्रमा पुनः आकस्मिक स्वास्थ्य शिविर

खोटाङ, ३ कात्तिक । खोटाङमा भाइरलले सयभन्दा बढी स्थानीय बिरामी भएको ठाउँमा पुनः आकस्मिक शिविर सञ्चालन गरिएको छ ।

भाइरलले १०३ जना बिरामी परेको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको बादेलमा दोस्रो पटक बुधबारबाट आकस्मिक स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । दसैँ अघिदेखि टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, हात खुट्टा र शरीर खाने लगायतका समस्या देखिने भाइरलले सयौं स्थानीय बिरामी परेपछि स्वास्थ्यचौकीसँगको समन्वयमा वडा कार्यालयले गत शुक्रबार स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

औषधि वितरण गर्दा पनि निको नभएका बिरामीलाई लक्षित गर्दै स्वास्थ्यकर्मीसहित आकस्मिक स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए । भाइरलले थलिएका ४४ जना बिरामीको दोस्रोपल्ट स्वास्थ्य जाँच गर्नुका साथै औषधि वितरण गरिएको छ । शिविरमा ल्याइएका दुई वृद्धा सहित चार जनालाई स्लाइन दिइएको छ । स्वास्थ्यकर्मीका अनुसार गम्भीर अवस्थाका छ जनालाई थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र, ऐसेलुखर्क लैजान सुझाव दिइएको गाउँपालिका अध्यक्ष राईले बताए ।

भाइरलले साविकको बाकाचोल–२ र ३ मा पर्ने बादेलका अधिकांश घरका स्थानीय बिरामी परेका छन् । अधिकांश बिरामीमा एकै प्रकृतिको स्वास्थ्य समस्या देखिएको वडाध्यक्ष नन्दकुमार तामाङले बताए । प्राथमिक स्वास्थ्य केन्द्रका डा.संगम न्यौपाने, ल्याव असिस्टेन्ट उमेश आचार्य, हेल्थ असिस्टेन्ट दिपेन्द्र मगर, स्वास्थ्य स्वयंसेविका रमिता राईलगायतको टोलीसहित आकस्मिक स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board