नेपाल शेख रसेल कप चेसको सुपर लिगमा श्रीलंकासँग पराजित

काठमाडौं, ३ कात्तिक । नेपाल शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपको सुपर लिगमा श्रीलंकासँग ३–१ ले पराजित भएको छ । 

बंगलादेशको राजधानी ढाकामा जारी च्याम्पियनशीप अन्तर्गत बुधबार सम्पन्न सुपर लिगको दोस्रो खेलमा नेपालका लागि सिंगेश्वर दासले मात्र जीत हात पारे । 

नेपाली टिमका लागि तेस्रो बोर्डमा प्रतिस्पर्धा गरिरहेका दासले श्रीलंकाविरुद्ध दुवै चरणका खेलमा लगातार व्यक्तिगत स्कोर गरेका हुन् । आफूभन्दा उच्च वरियताका श्रीलंकाली खेलाडी कालुआराचि अचिन्था सामेनविरुद्ध लिग चरणको खेलमा बराबरीको नतिजा निकालेका सिंगेश्वर सुपर लिगमा जित हासिल गर्न सफल भए ।

नेपालका लागि पहिलो बोर्डमा प्रतिस्पर्धा गरेका फिडेमास्टर रिजेन्द्र राजभण्डारी श्रीलंकाली ईन्टरनेसनल मास्टर डि सिल्भा एलएमएसटीसँग पराजित भए । दोस्रो बोर्डको खेलमा नेपाली फिडेमास्टर विलमलाल श्रेष्ठले श्रीलंकाली फिडेमास्टर रनिन्दु दिलसान लियानागेसँग हार व्यहोरे भने चौथो बोर्ड खेलमा राजेन्द्र बज्राचार्यले श्रीलंकाली लिसरा समाधिथ तेनाकुनसँग हार व्यहोरे ।  

मंगलबारबाट सुरु भएको सुपर लिगको पहिलो खेलमा बंगलादेशलाई २–२ को बराबरीमा रोक्न सफल श्रीलंका टोली दुई खेलबाट ३ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ । त्यसैगरी बंगलादेश १ अंकका साथ दोश्रो स्थानमा रहेको छ भने अंकविहीन नेपाल तेश्रो स्थानमा रहेको छ । सुपर लिगको तेश्रो खेलमा बिहीबार नेपालले बंगलादेशको सामना गर्नेछ ।

नेपाल र बंगलादेशको नतिजाले च्याम्पियनसीपको विजेता टुंगो लगाउने छ । नेपाल र बंगलादेशबीचको खेल बराबरीमा टुंगिए श्रीलंका च्याम्पियन हुने छ । तीन ग्राण्डमास्टर तथा दुई इन्टरनेसनल मास्टर सम्मिलित आयोजक बंगलादेशले यसअघि लिग चरणको अन्तिम खेलमा नेपाललाई ४–० ले पराजित गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति