काठमाडौं, ३१ असोज । शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसिपमा नेपालले दोस्राे हार व्यहोरेको छ । बंगलादेशको राजधानी ढाकामा जारी च्याम्पियनसिपअन्तर्गत आइतबार भएकाे चौथो राउण्डको खेलमा श्रीलंकासँग ०-५–३-५ ले हार व्यहोरेसँगै नेपाल अंक तालिकाको तेस्राे स्थानमा झरेको छ ।
चौथो राउण्डमा नेपालका लागि सिंगेश्वर दास मात्र अंक जोड्न सफल भए । तेस्राे बोर्डमा प्रतिस्पर्धा गरिरहेका दासले आफ्नो अपराजित यात्रा कायम गर्ने क्रममा आफूभन्दा उच्च वरियताका श्रीलंकाली खेलाडी कालुआराचि अचिन्था सामेनलाई बराबरीमा रोक्न सफल भए ।
पहिलो बोर्डमा प्रतिस्पर्धा गरेका फिडेमास्टर रिजेन्द्र राजभण्डारी श्रीलंकाली इन्टरनेसनल मास्टर डि सिल्भा एलएमएसटीसँग पराजित हुन पुगे । त्यसैगरी दोस्राे बोर्डको खेलमा फिडेमास्टर विलमलाल श्रेष्ठ अर्का फिडेमास्टर रनिन्दु दिलसान लियानागेसँग हार व्यहोर्न पुगे भने चौथो बोर्डमा खेलेका राजेन्द्रप्रसाद श्रेष्ठ लिसरा समाधिथ तेनाकुनसँग पराजित भए ।
चार राउण्डको समाप्तिमा आयोजक बंगलादेश ८ अंकका साथ शिर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी श्रीलंका ६ अंकका साथ दोश्रो स्थानमा उक्लिन सफल भएको छ । समान चारचार अंक बनाएका नेपाल तथा पाकिस्तान क्रमशः तेश्रो तथा चौथो स्थानमा रहेका छन् ।
राउण्ड रोविन प्रणालीमा सञ्चालन भइरहेको च्याम्पियनसिपमा सोमबार लिग चरणका खेलहरु सम्पन्न हुनेछन् । पाँचौँ तथा अन्तिम राउण्डमा नेपालले आयोजक बंगलादेशको सामना गर्ने छ । सुपर लिग प्रवेशका लागि नेपालको गणितिय सम्भावना कायम नै रहेको छ । च्याम्पियनसिपको फर्म्याट अनुसार पहिलो चरणको लिगबाट शीर्ष ३ मा रहन सफल टोली सुपर लिगमा प्रवेश गर्नेछन् ।
सुपर लिगको विजेताले ४ हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । त्यसैगरी उपविजेताले ३ हजार अमेरिकी डलर तथा तेश्रो हुनेले २ हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । सुपर लिगमा प्रवेश गर्न नसकेपनि समग्रमा चौथो हुने टोलिले १ हजार अमेरिकी डलर नगद प्राप्त गर्ने छन् ।
प्रतिक्रिया