लक्ष्मण थारुको उम्मेदवारी रद्द

धनगढी, २५ असोज । कैलाली-५ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ ।

थारुलाई उच्च अदालत दिपायलले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी जन्मकैद तथा ज्यान मार्ने उद्योगमा थप ५ वर्ष कैद सजाय सुनाएकोमा सो सजाय पुरा नभएको र कारावासमा समेत नरहेको पाइएका ठहर गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले उनको उम्मेदवारी रद्द गर्ने निर्णय गरेको छ ।

मुख्य निर्वाचन अधिकृत आमप्रसाद अर्यालले गरेको निर्णयमा भनिएको छ, ‘२०७७ कात्तिक १९ गते उच्च अदालत दिपायलले गरेको फैसला अनुसार लक्ष्मण थारुले अझै २१ वर्ष कैद भुक्तान गर्नुपर्ने देखियो, निजले सर्वोच्च अदालतमा पुनरावेदन गरेको भए पनि उनी अदालतमै उपस्थित नभएका कारण प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को दफा ३१(६) बमोजिम उनको उम्मेदवारी खारेज गरिन्छ ।’

नाबालक सहित राष्ट्र सेवाका कर्मचारीको ज्यान जाने गरी भएको टिकापुर घटनामा दोषी ठहर भएका व्यक्तिले उम्मेदवारी दिएको भन्दै धनगढी–१५ का रामबहादुर सिंहले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीमा लक्ष्मण चौधरी विरुद्ध उजुरी दिएका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सो उजुरीको जवाफ मागेपछि लक्ष्मण थारुले जवाफ दिएका थिए । उनको जवाफ वारिस्नामा मार्फत बुंदिलाल चौधरीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति