जसपाका मन्त्री हटाउने तयारीमा प्रधानमन्त्री देउवा

काठमाडौँ, २५ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन् । तर, निर्वाचन आचारसंहिता लागु भइसकेकाले देउवा निर्वाचन आयोग र आफूनिकटका कानुन व्यवसायीसँग परामर्शमा छन् ।

जसपाले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गरेर उम्मेदवारी दिएसँगै उसका मन्त्रीहरूलाई हटाउन लागेको प्रधानमन्त्रीनिकट एक नेताले बताए । गठबन्धनको बैठकमा अदालत र आयोगमा परामर्श गरेर निर्णय लिने देउवाले जानकारी दिएका छन् । आयोगसँगको परामर्शपछि देउवाले जसपाका मन्त्रीलाई हटाउने तयारीमा पुगेका हुन् ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव मन्त्रिपरिषद्मा छन् ।

पाँच वर्षअघिको निर्वाचनका बेला कांग्रेस र नेकपा (माओवादी केन्द्र)को सरकार थियो । माओवादीले एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले जिम्मेवारी खोसेर बिनाविभागीय बनाएका थिए । यसपाली बिनाविभागीयभन्दा पनि पदबाटै हटाउन लागिएको प्रधानमन्त्रीनिकट स्रोतले भन्यो ।

प्रधानमन्त्री देउवाले प्रमुख निर्वाचन आयुक्तलाई उनीहरूलाई हटाएपछि नयाँ नियुक्ति गर्न मिल्ने वा नमिल्नेबारे परामर्शसमेत गरेको स्रोतले बतायो । आयोगबाट समेत हटाउन सकिने परामर्श पाएपछि देउवाले सरकारमा रहेका चार मन्त्रीलाई केही दिनमा पदमुक्त गर्न सक्ने ती नेताको भनाइ छ ।

सत्ता गठबन्धनले भन्दा एमालेले बढी सिट दिने भएपछि जसपाले एमालेसँग तालमेल गरेको हो । एमालेले जसपालाई प्रतिनिधिसभामा १७ र प्रदेशसभामा ४२ सिट दिने सहमतिअनुसार नै उम्मेदवारी परिसकेको छ ।

सत्ता गठबन्धनले भने जसपालाई १४ सिटको प्रस्ताव गरेको थियो । निर्वाचन आयोगका अनुसार जसपाले प्रदेशसभातर्फ प्रदेश १ मा ३५, मधेस प्रदेशमा ३५, बागमतीमा २३, गण्डकी प्रदेशमा १५, लुम्बिनी प्रदेशमा १९, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा २ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै, प्रतिनिधिसभातर्फ ८१ निर्वाचन क्षेत्रमा उम्मेदवारी गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति