गुल्मीमा पूर्वसहकर्मीबीच भिडन्त, विष्ट र झाँक्रीमध्ये को बलियो ?

काठमाडौँ, २५ असोज । गुल्मी क्षेत्र नम्बर २ मा यसपटकको निर्वाचन रोचक हुने देखिएको छ । यस क्षेत्रमा दुई प्रमुख पार्टीका सचिवहरू भिडन्तमा उत्रिएका छन् । नेकपा (एमाले)का सचिव गोकर्ण विष्ट र नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीबीच कडा टक्कर हुँदै छ । उनीहरी यसअघि एउटै पार्टीका सहयात्री हुन् ।

एकीकृत समाजवादीकी नेतृ झाँक्रीलाई सत्तारूढ गठबन्धनका दलहरूको साथ रहने छ भने एमालेका विष्टले एक्लै प्रतिस्पर्धा गर्ने छन् । विष्टलाई एमालेमा ‘इलेक्सन म्यान’का रूपमा पनि चिनिने गरिन्छ । यसअघि २०७४ सालमा भएको निर्वाचनमा झाँक्री एमालेको समानुपातिक सूचीमा थिइन् भने उनले चुनावमा विष्टको पक्षमा मत मागेकी थिइन् ।

एमालेबाट चोइटिएर माधवकुमार नेपालको अध्यक्षतामा बनेको नेकपा (एकीकृत समाजवादी)मा लागेकी झाँक्री एमाले अध्यक्ष केपी शर्मा ओलीविरूद्ध भाषण गरेर यो बीचमा चर्चामा आइन् । उनलाई एकीकृत समाजवादीले मन्त्रीसमेत बनाएको थियो । मन्त्री पदबाट बिदा हुनु पर्दा रोएपछि उनको आलोचना पनि भएको थियो ।

झन्डै ३ दशक पार्टीमा रहेका झाँकी र विष्ट गत वर्षमात्रै फरक–फरक पार्टीमा लागेका हुन् । एमालेको प्रभावशाली क्षेत्र मानिएको गुल्मीमा २०५६ सालदेखि नै उम्मेदवार बन्दै आएका विष्टले निर्वाचनमा जित निकाल्दै पनि आएका छन् ।

उनी २०६४ मा मात्र नेकपा (माओवादी केन्द्र)का चन्द्रबहादुर थापासँग पराजित भएका थिए । २०७४ सालको निर्वाचनमा वाम गठबन्धन हुँदा विष्टले १४ हजारभन्दा बढी मतले जित निकालेका थिए । लामो समयदेखि निर्वाचनमा जित निकाल्दै आएका विष्ट त्यसैले पनि जित निकाल्नेमा ढुक्क छन् । त्यसमाथि गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पनि वडाध्यक्षको उम्मेदवारहरुले पाएको मतमा पनि त्यहाँ एमाले नै अगाडि रहेको छ । एमालेका वडाध्यक्षहरूले त्यहाँ ३१ हजारभन्दा बढी मत पाउँदा नेपाली कांग्रेसले २९ हजार ८ सय मत पाएको थियो । माओवादी केन्द्र र एकीकृत समाजवादीले क्रमशः १ हजार ८४१ र ६५८ मत मात्र पाएका थिए ।

स्थानीय तहको निर्वाचनको परिणमका कारण पनि विष्ट यो क्षेत्रमा आफूलाई सहज हुने अड्कलबाजीमा रहेका छन् । तर, गठबन्धनका दलहरूको मत आफूलाई ल्याउन विष्टलाई ठुलो चुनौती हुने देखिन्छ ।

झाँक्रीको पार्टीको अवस्था कमजोर भए पनि उनी गठबन्धन दलहरूका मतदाताहरूले अन्तर्घात नगरेमा आफूले जित निकाल्ने दाउमा छिन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति