काठमाडौँ, २५ असोज । नेकपा (एमाले)का नेता भीम रावलले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिन्ह दिएको प्रति आपत्ति जनाएका छन ।
मकवानपुर–१ का उम्मेदवार थापाले नेकपा एमालेको सूर्य चुनाव चिन्हबाट उम्मेदवार भएपछि रावलले ‘अनैतिकताको नमुना’ भन्दै आपत्ति जनाएका हुन् । उनले एमालेसँग चुनावी गठबन्धन गरेको जनता समाजवादी पार्टी शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहिरहेको विषयलाई पनि ‘अनौतिक’ भनेका छन् ।
‘कमल थापा एमालेको सूर्यमा उम्मेदवार हुने तर निजका अरु उम्मेदवार तीर चिन्हमा लड्ने र उपेन्द्र यादवको जसपा सरकारमा रहिरहने तर तालमेल एमालेसँग गर्ने ?,’ रावलले भनेका छन्, ‘निर्वाचन आयोगले एक व्यक्ति दुई पार्टीमा रहन नसक्ने भनी प्रष्ट्याउनु पर्ने । यस्तैलाई एमालेले बोक्ने । के हुन लाग्यो ।’
आफ्नो नाम क्षेत्र, जिल्ला र प्रदेशवाट सिफारिस भए पनि केन्द्रले टिकट नदिएको विषयमा उचित समयमा बोल्ने जनाएका रावलले थापालाई दिएको सूर्य चिन्ह र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सरकारमा नै रहिरहेको विषयलाई सामाजिक सञ्जालमार्फत् प्रश्न उठाएका हुन् ।
प्रतिक्रिया