सिन्धुलीगढी विजयको २५५औं वर्ष : वंशु (वंश) गुरुङका सन्तानले सम्झिए पुर्खा

तनहुँ । सिन्धुलीगढी युद्धमा अंग्रेज फौजमाथि गोर्खाली फौजले विजय प्राप्त गरेको अवसरमा सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले पुर्खाको वीरताको सम्झना गरेका छन् ।

प्रतिष्ठानले निर्माण गरेको प्रतिमास्थल शुक्लागण्डकी–१२ ढोर जस्पुरमा आयोजित कार्यक्रममा पुर्खाको सम्झना सम्मानमा कार्यक्रम आयोजना गरेका हुन् ।

प्रतिष्ठानले जस्पुरमा २०७६ सालमा आफ्ना पुर्खा वंशुको प्रतिमा बनाएका थिए । सो स्थानमा हरेक असोज १५ गते वीर पुर्खा वंशु लगायत सिन्धुली गढीमा लडेका योद्धाको सम्मानमा प्रतिष्ठानले कार्यक्रम गर्दै आएको छ ।

विजयोत्सवको अवसर पारेर प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले सिकारी सरदार वंशुको शालिकमा फूलको गुच्छा चढाई दीप प्रज्वलन गरेका थिए ।

त्यस्तै, कार्यक्रममा विशिष्ट अतिथिहरु वरिष्ठ साहित्यकार तथा लेखक सुमलकुमार गुरुङ, शुक्लागण्डकी नगरपालिकाका निवर्तमान नगर प्रमुख किसान गुरुङ, वडाध्यक्ष इन्द्र गुरुङ लगायतले पनि शालिकमा माल्यार्पण गर्दै दीप प्रज्वलन गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख पण्डितले नवनिर्मित भवन प्रतिष्ठानलाई हस्तान्तरण गरे । सो भवन १० लाख रुपैयाँ लागतमा निर्माण भएको हो । कार्यक्रममा नगर प्रमुख पण्डितले प्रतिष्ठानलाई सक्दो सहयोग गर्ने र युद्ध नायक वंशुको सम्मानमा थप सशक्त कार्यक्रम अघि बढाउने बताए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार तथा लेखक सुमल कुमार गुरुङले भने, ‘नेपालका बीर सेना नायक बंशु गुरुङ जसले देशका लागि आदम्य साहसको प्रदर्शन गरी विश्व विजेता ब्रिटिस सेनालाई पराजित गरेको ऐतिहासिक घट्नालाई हामीले ठूलो उपलब्धिको रुपमा लिनु पर्दछ र अब सम्मान गर्नुपर्ने समय आएको छ । उनलाई राष्ट्रिय विभूतिको रुपमा राष्ट्रले स्थापित गर्नुपर्छ भन्ने मेरो बुझाई छ ।’

निवर्तमान नगरपरमुख किसान गुरुङले अब बंशु गुरुङ हामी जसपुरे लामिछाने गुरुङको मात्र नभई नेपाल सरकारले सम्मान गर्नुपर्ने बताए ।

यसैगरी, लामिछाने गुरुङ सम्बन्धित खोज अनुसन्धानकर्ता खुसीमान गुरुङले सिकारी सरदार बंशु गुरुङ प्रमुख उमरा भास्कर लामिछाने गुरुङको सन्तान हो भनेर ठोकुवा लगाए ।

कार्यक्रममा वडाध्यक्ष इन्द्र गुरुङले प्रतिष्ठालाई आफू सधै सहयोग गर्न तयार रहेको प्रतिपद्धता व्यक्त गरे ।

पुर्खाको सम्झनमा धुप बालेर पूर्वउपसचिव हुकुमसिं गुरुङले सबैलाई स्वागत गर्दै सुरु भएको कार्यक्रम सञ्चालन बिनु गुरुङले गरेकी थिइन भने कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष क्या. लालजंग गुरुङले गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति