विराटनगर, १६ असोज । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको प्रष्ट परे । उनले भने, “निर्वाचन लड्ने आँट एमालेले मात्र गर्छ, यो रिले रेस होइन म्याराथन दौडिने पार्टी हो ।”
उनले यो ढोडको लौरो टेक्ने पार्टी होइन आफ्नै खुट्टामा भर परेर हिँड्ने पार्टी भएकाले आगामी निर्वाचनमा बहुमत ल्याउने जिकिर गरे । अध्यक्ष ओलीले एमालेको एजेन्डाले देश, जनता, शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, विकास र जनताको सेवा एवम् हितलाई सम्बोधन गर्ने भएकाले निर्वाचनमा जनताले यसैको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे ।
उनले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा केही सिटमा अन्य विचार मिल्ने पार्टीसँग सहमति कायम हुनसक्ने बताए । एक प्रश्नको जबाफमा अध्यक्ष ओलीले वर्तमान कामचलाउ सरकारले संसद् नभएका समयमा दुरगामी महत्वका अध्यादेश ल्याउनु गलत हो भने ।
उनले यो सरकारको काम दैनिक कामकाज सञ्चालन गर्नु र शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्नु मात्र भएको विचार व्यक्त गरे ।
प्रतिक्रिया