मिटरब्याजी अनिरूद्ध साह पुर्पक्षका लागि जेल चलान

महोत्तरी, ७ असोज । महोत्तरी जिल्ला अदालतले मिटरब्याजी अनिरूद्ध साहलाई पुर्पक्षका लागि जेल चलान गरेको छ । महोत्तरीदेखिन झापासम्मका दर्जनौँ व्यक्तिलाई मिटरब्याजको कुचक्रमा फसाएर उठिबास र घरवारविहीन बनाउनुका साथै ऋण दिएकै कारण कतिपय महिलालाई यौन शोषणसमेत गरेको आरोप लागेका जिल्लाको भंगाहा नगरपालिका–५ बस्ने मिटरब्याजी ४० वर्षीय साहलाई बुधबार साँझ महोत्तरी जिल्ला अदालतका न्यायाधीश हेमबहादुर सेनको इजलासले पुर्पक्षका लागि जेल चलान गरेको हो ।

महोत्तरी जिल्ला अदालतका स्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार साहले थुप्रै मनिससँग अवैधरूपमा ब्याज असुली गरेको, धेरैलाई उठिबास लगाएको र ब्याजकै कारण धेरैलाई घरबारविहीन बनाएकोसम्बन्धी पर्याप्त सबुत प्रमाण अदालतमा पेस भएकाले उनलाई न्यायाधीश सेनले पुर्पक्षमै राखेर मुद्दा अगाडि बढाउने आदेश दिएका हुन् ।

भंगाहा–५ बस्ने चन्द्रकला महरासमेतको जाहेरीले वादी नेपाल सरकार, प्रतिवादी भंगाहा–५ बस्ने साहसमेत भएको ठगी, आपराधिक विश्वासघात, लिखतसम्बन्धी कसूर तथा संगठित अपराध मुद्दाको सिलसिलामा निज प्रतिवादी साहलाई प्रहरीले भदौ ४ गते पक्राउ गरेको थियो ।

साहमाथि उल्लिखित मुद्दामा आवश्यक अनुसन्धानपश्चात् जिल्ला सरकारी वकिल कार्यालयमार्फत् महोत्तरी जिल्ला अदालतमा पेस गरिएकामा अदालतले उनलाई पुर्पपक्षका लागि जेल पठाउने आदेश दिएको हो । अदालतद्वारा पूर्पक्षका लागि जेल पठाउने आदेश भएपछि साहलाई जलेश्वर कारागारमा पठाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति