काठमाडौँ, ४ भदौ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् । प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित पार्टीहरूले सोमबार निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका हुन् ।
दलहरूले प्रतिनिधिसभाका ११० सिट र प्रदेशसभाका २२० सिटका लागि उम्मेदवारी सूूची बुझाएका छन् । आयोगले सूचीमा परेकाहरूको विवरण जाँच गरिरहेको छ । दलहरूले सोमबार बुझाएको सूची सच्याउनका लागि आयोगले असोज १६ गतेसम्मको समय दिएको छ ।
दलहरूले औपचारिक रूपमा सूची सार्वजनिक नगरे पनि राष्ट्रिय राजनीतिमा हैसियत बनाएका व्यक्तिलाई विभिन्न ‘कोटा’बाट समानुपातिक सूचीमा समेटेका छन् । समानुपातिक निर्वाचन निर्देशिका २०७९ मा दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारू र मुस्लिम जनसंख्या प्रतिशतका आधारमा प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम समावेश गर्नुपर्ने व्यवस्था छ ।
समानुपातिकमा परेका चर्चित अनुहार
प्रमुख राजनीतिक दलहरूले यसपटकको निर्वाचनमा समानुपातिकतर्फ पुरानालाई सकेसम्म नदोहोर्याउने बताएका थिए । पटक–पटक समानुपातिकमा पर्दै आएका केही व्यक्ति यसपटक सूचीमा नपरेपनि यसअछि प्रत्यक्षमा प्रतिस्पर्धा गर्दै आएका चर्चित नेताहरू समानुपातिकमा परेका छन् ।
सत्तारूढ दल नेपाली कांग्रेसले बुझाएको बन्द सूचीमा पूर्वउपसभापति विमलेन्द्र निधिदेखि पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा अटाएका छन् ।
२०७४ सालको निर्वाचनमा निधि धनुषा–३ बाट प्रत्यक्षतर्फ चुनाव लडेर पराजित भएका थिए । त्यतिबेला उनलाई तत्कालीन राष्ट्रिय जनता पार्टीका उम्मेदवार राजेन्द्र महतोले पराजित गरेका थिए ।
यस्तै, आरजु केलाली–५ बाट प्रत्यक्षतर्फको उम्मेदवार रहेकोमा वाम गठबन्धनबाट एमालेका उम्मेदवार नारदमुनी रानासँग पराजित भएकी थिइन् । फेरि पनि उक्त क्षेत्रबाट निर्वाचनको तयारी गरेकी उनी जित निश्चित नभएपछि समानुपातिकतर्फ लागेकी हुन् ।
कांग्रेसबाट सहमहामन्त्री फरमुल्लाह मन्सुर, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठलगायत केन्द्रीय नेताहरू पनि समानुपातिक सूचीमा बसेका छन् । यी नेताहरू पूर्वमन्त्रीसमेत हुन् । यस्तै, मधेस प्रदेशबाट खस–आर्यको कोटाबाट आनन्द ढुंगाना पनि समानुपातिकको सूचीमा परेका छन् ।
कांग्रेस प्रवक्ता महत प्रकाशशरण महत पनि समानुपातिकमा अटाएका छन् । महत २०७४ सालको निर्वाचनमा काठमाडौँ–५ मा नेकपा (एमाले)का ईश्वर पोखरेलसँग पराजित भएका थिए । काठमाडौँ–३ बाट पराजित भएकी कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत पनि समानुपातिकमा समेटीएकी छन् । कांग्रेस सहमहामन्त्री जीवन परियार पनि समानुपातिकको बन्द सूचीमा रहेका छन् ।
यसपटक समानुपातिक सूचीमा परेका अर्का ‘हेबिवेट’ नेता हुन्, नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महरा । पूर्वसभामुखसमेत रहेका महरालाई पार्टीले समानुपातिक सूचीमा राखेको छ ।
२०७४ सालको निर्वाचनमा उनी दाङको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । महराले कांग्रेस उम्मेदवार राजु खनाललाई १४ हजार १४५ मतान्तरले पराजित गरेका थिए । यसपटक उक्त क्षेत्रमा एमालेका महासचिव शंकर पोखरेलले उम्मेदवार हुने तयारी गरेका छन् ।
प्रत्यक्षतर्फको उम्मेदवारका लागि महराको नाम ३ ठाउँबाट सिफारिस भएको थियो । दाङको क्षेत्र नम्बर १ र २ का साथै रोल्पाबाट पनि महरा सिफारिसमा परेका थिए । महरा आफैँले भने प्रत्यक्षतर्फबाट धेरै ठाउँमा माग भएकाले आफू राष्ट्रिय व्यक्तित्वका लागि समानुपातिकमा बसेको बताएका छन् ।
माओवादीको बन्दसूचीमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ, जनजाति अन्दोलनका अगुवा परशुराम तामाङ, गंगानारायण श्रेष्ठ, राष्ट्रिय महिला आयोगकी पूर्वअध्यक्ष दुर्गा सोब र प्राध्यापक दुर्गा न्यौपाने भट्टराई सूचीमा अटाएका छन् ।
त्यस्तै, माओवादीले पूर्वमन्त्री हरिकुल्ला खाँ, रेणु चन्द, दलित आयोगकी पूर्वअध्यक्ष सुशील श्रीवाइली, उद्योगी दिलसुन्दर श्रेष्ठ, साहित्यकार ईश्वरचन्द्र ज्ञवाली, कर्मचारी महासंघका अध्यक्ष मोहनमान स्वाँर, अजम्बर राई काङबाड र बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादीका पाँच नेता पनि परेका छन् ।
नेकपा (एमाले)बाट समानुपातिक सूचीमा पर्ने शीर्ष नेतामध्ये रघुजी पन्त छन् । ललितपुरबाट चुनाव लड्दै आएका स्थायी कमिटी सदस्य पन्तलाई एमालेले खस–आर्यको क्लस्टरमा समानुपातिक उम्मेदवार बनाएको छ । यस्तै, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’की श्रीमती नैनकला थापालाई पनि एमालेले समानुपातिक उम्मेदवारको सूचीमा राखेको छ ।
अनेरास्ववियूकी अध्यक्ष सुनिता बरालदेखि कानुन विभागकी सदस्य अधिवक्ता शान्ति खनाल पनि एमालेबाट समानुपातिकको सूचीमा अटाएका छन् । त्यस्तै, उमा कोइराला, मेनका पछाइ, भक्तकुमारी लामा, दीपा शर्मा, क्रान्ति बुर्लाकोटी पनि एमालेको बन्द सूचीमा परेका छन् ।
सत्ता गठबन्धनको दल एकीकृत समाजवादीका पदाधिकारीसहित ९ जना ‘शीर्ष नेता’ समानुपातिकको सूचीमा परेका छन् । समानुपातिक रोज्नेमा उपाध्यक्ष प्रमेश हमालसहित उपमहासचिव गंगालाल तुलाधर, सचिव नागेन्द्रकुमार चौधरी, स्थायी कमिटी सदस्य सावित्राकुमारी भुसाल, स्थायी कमिटी सदस्य रामचन्द्र यादव, श्रीप्रसाद साह छन् । उपाध्क्ष हमाल पूर्वराजदूत हुन् ।
यस्तै, स्थायी कमिटी सदस्य भविश्वर पराजुली, केन्द्रीय लेखा आयोग अध्यक्ष भरतकुमार श्रेष्ठ र पोलिट्ब्युरो सदस्य दीलकुमारी पन्त पनि समानुपातिक सूचीमा परेका छन् ।
प्रतिक्रिया