माओवादीले समानुपातिक सांसद नदोहोर्‍याउने

काठमाडौँ, ३० भदौ । नेकपा (माओवादी केन्द्र)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फका सांसद नदोहोर्‍याउने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार बसेको पार्टी पदाधिकारीको बैठकले समानुपातिकतर्फका उम्मेदवारको सूची तयार गर्दा अन्तरिम व्यवस्थापिकाबाहेक अरु समयमा समानुपातिक सदस्य भएकालाई नदोहोर्‍याउने निर्णय गरेको हो ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेका उम्मेदवारलाई समानुपातिकमा प्राथमिकता नदिने र बन्दसूची पेस गर्दा सम्बन्धित समितिको बैठकले अनिवार्य निर्णय गरेको हुनुपर्ने पदाधिकारी बैठकको निष्कर्ष छ ।

बैठकले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची तयार गर्न सम्बन्धित प्रदेशले बिहीबारभित्र प्रतिनिधित्वको निर्धारित क्षेत्र छुट्याएर सूची पेस गर्ने निर्णय गरेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

बैठकमा अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गर्न बनेको समितिको प्रतिवेदनबारे प्रारम्भिक छलफल भएको थियो । बैठकले समिति प्रमुखको उपस्थितिमा थप छलफल गरि अन्तर्घातमा संलग्नलाई आवश्यक कारबाही गर्ने निर्णय गरेको छ ।

बैठकमा अध्यक्ष दाहालले निर्वाचन क्षेत्र बाँडफाँडका बारेमा गठबन्धन दलका बीचमा सकारात्मक छलफल भएको जानकारी गराएका थिए । समानुपातिक प्रतिनिधित्व सूची पेस गरिसकेपछि आगामी असोज ४ गते गठबन्धनको बैठक बसी क्षेत्र बाँडफाँट टुङ्ग्याउने समझदारी बनेको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति