३२ महिनापछि विदेश भ्रमणमा, सी चिनफिङ काजकास्थान पुगे

एजेन्सी , नुरसुल्तान, २९ भदौ । चिनियाँ राष्ट्रपति सी चिनफिङ ३२ महिनापछि देशबाहिर निस्किएका छन्।
समाचार संस्था सिन्ह्वाका अनुसार बुधबार चिनफिङ कजाखस्तानको राजधानी नुर सुल्तान पुगेका छन्।
बुधबार दिउँसो चिनफिङको चार्टर्ड जहाज नुर सुल्तान पुगेको छ। कजाखस्तानको भ्रमणपछि चिनफिङ उज्बेकस्तान जानेछन्।

उज्बेकस्तानमा सांघाई कोअपरेशन अर्गनाइजेसनको सम्मेलन हुँदैछ।
म्यानमारमा चिनफिङले पछिल्लो विदेश भ्रमण गरेका थिए। सन् २०२० को जनवरी १७ र १८ मा भएको उक्त भ्रमणका क्रममा चिनफिङले केही सम्झौतामा हस्ताक्षर गरेका थिए र म्यानमारकी तत्कालीन नेतृ आनसाङ सुकीसँग हात मिलाएका थिए। त्यसपछि म्यानमारमा सैनिक शासन लागु भयो। सुकी अहिले जेलमा छन्। म्यानमार र सुकीको जीवन मात्र होइन त्यसपछि संसारभरि नै ठूलो परिवर्तन भइसकेको छ।
कोरोनाभाइरसको महामारी कम हुँदै गए पनि चीन भने अहिले पनि कोरोनाविरूद्ध शुन्य सहनशिलताको नीति लिएको छ। चीनबाटै सुरू भएको कोरोनालाई रोक्न चीनले आफ्ना देशका नागरिकसहित विदेशीलाई पनि कडा प्रतिबन्धहरू लगाएको छ। यो अवधिमा विदेश भ्रमण नगरेर राष्ट्रपति चिनफिङले त्यसको पालना गरेका छन्।

अब भने उनले उक्त प्रतिबन्ध खुकुलो पार्ने बेला भएको ठानेको हुन सक्छ।
उज्बेकस्तानमा चिनफिङले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गर्ने कार्यक्रम छ।
गत फेब्रुअरीमा छिमेकी युक्रेनमाथि हमला गरेका पुटिनले त्यसपछि पहिलो पटक चिनफिङसँग भेट गर्दैछन्।
सांघाई कोअपरेशनको सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुँदै छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति