काठमाडौँ, २९ भदौ । काठमाडौँ महानगरपालिकाले पूर्वप्रहरी वरिष्ठ उपरीक्षक जगतमान श्रेष्ठलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको छ ।
कामपाले मंगलबारको प्रमुखस्तरीय निर्णयबाट उनीलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखका रूपमा काम गरिसकेका श्रेष्ठले प्रहरी अधिकृतको आधारभूत तालिमसँगै मानवअधिकार तथा कानुन कार्यान्वयन, प्रहरी व्यवस्थापन, विपद् व्यवस्थापन, अपराध अनुसन्धान, विशिष्ट सवारी परिचालनलगायत विषयमा तालिम गरेका छन् ।
त्यस्तै, भारतबाट ट्राफिक व्यवस्थापन, चीनबाट विकासोन्मुख देशमा ट्राफिक प्रशासन, दक्षिण अफ्रिकाको जाम्बियाबाट ट्राफिक सडक सुरक्षा विषयमा तालिम लिएको बताइएको छ ।
यस्तै, उनले यातायात र सडक व्यवस्थापन तथा सुरक्षाका अन्य दर्जन बढी शीर्षकमा तालिम लिएका छन् । उत्कृष्ट कार्यसम्पादनवापत उनले नेपाल सरकारले प्रदान गर्ने गोरखा दक्षिण बाहु र संयुक्त राष्ट्रसंघले प्रदान गर्ने पदक पाएका छन्।
श्रेष्ठको नियुक्तसँगै कामपाले महानगरको ट्राफिक व्यवस्थापनका क्षेत्रमा थप सहयोग पुग्ने आशा गरेको छ ।
प्रतिक्रिया