बलिउडको लगानीमा ‘सायरा’ बन्दै, आर्यन सिग्देलसँग सुफियाले अनस्क्रिन रोमान्स गर्दै

काठमाडौं, २८ भदौ । नेपाली इन्डियन मेकर्सको संयुक्त लगानीमा बन्ने फिल्म ‘सायरा’ को घोषणा भएको छ । मंगलबार होटल र्याडिसनमा आयोजित एक कार्यक्रमबीच घोषणा गरिएको ‘सायरा’मा बलिउड निर्माता तथा निर्देशक पुष्कर झाको निर्माण रहनेछ । पुष्करसँग नेपाली ब्यानर डीबीआर मेडिया एन्ड मुभिज र आइविल प्रोडक्सन स्ष्ट्रेलियाको संयुक्त लगानी रहनेछ ।

भिलेज ब्वाई प्रोडक्सनमार्फत भारतमा सिरियल र फिल्म निर्माण गरिरहेका पुष्करले नेपाली फिल्म बनाउन पाउँदा खुसी लागेको बताए । ‘नेपाली फिल्म बनाउने इच्छा थियो । अहिले यो सहकार्य हुँदा म उत्साहित छु । नेपाली फिल्मलाई हिन्दी भाषामार्फत विश्व बजारमा लैजाने मसहित टिमको तयारी छ । हामीले यसलाई हलसँगै ओटीटी पनि रिलिज गर्ने छौँ,’ पुष्करले भने ।

निर्देशक विशाल देसाईले नेप-इन्डो प्रोजेक्टमा जोडिन पाउँदा उत्साहित रहेको बताए । ‘मलाई निर्देशकको रूपमा चयन गर्नु भएकोमा उत्साहित छु । हाम्रो दुई छिमेकी मुलुकको मित्रता अझ बढ्ने किसिमले हामीले यस प्रोजेक्टलाई तयार गर्छौँ,’ उनले भने ।

फिल्मका प्रस्तुतकर्ता रघु परियारले आफ्नो प्रस्ताव स्वीकारेर फिल्ममा जोडिएको भन्दै पुष्कर र विशाललाई धन्यवाद दिए । ‘नेपाली फिल्मको बजारलाई विदेशमा विस्तार गर्न यसले महत्वपूर्ण भूमिका खेल्नेमा म ढुक्क छु । हामीले यसलाई हिन्दी भाषामा ओटीटीमार्फत नेपाली फिल्मको बजार विस्तार होस् भनेर रिलिज गर्न लागेका हौँ । हामी ओटीटीमा हिन्दी भाषासँगै नेपाली भाषामा समेत रिलिज गर्ने तयारीमा छौँ,’ रघुले भने ।

फिल्ममा आर्यन सिग्देल, सुफिया सिद्दिकी, कविता नेपालीलगायतका कलाकारहरुको अभिनय रहने छ । फिल्मको अन्य कलाकार तथा प्राविधिकको बारेमा छिट्टै जानकारी दिने प्रस्तुतकर्ता रघु परियारले बताए । फिल्मको आइडिया र टिमले गर्दा आफू जोडिएको आर्यनले बताए । ‘फिल्म कसरि बन्छ सँगै कसरी प्रदर्शन हुन्छ भन्ने विषयमा यो टिम प्रस्ट छ । त्यसैले पनि काम गर्न उत्साहित छु,’ आर्यनले भने ।

डान्सिङ रियालिटी शो वुगी वुगी विजेता कविता नेपाली यसै फिल्ममार्फत डेब्यु गर्दैछिन् । उनले टिमले आफूलाई जोडिन मद्दत गरेको बताइन् । ‘म राम्रो डेब्युको खोजीमा थिएँ । भनेझैँ टिम पाउँदा डेब्यु गर्दैछु । भूमिका पनि सुहाउँदो छ,’ उनले भनिन् । दसैँ र तिहारको बीचमा छायांकन सुरु हुने सायराको ९० प्रतिशत अस्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुने जानकारी दिइएको छ । यसमा नेपाल र भारत दुवै देशका कलाकारको अभिनय रहनेछ ।

यसमा कार्यकारी निर्मातामा काजीमान अत्रेय तथा निर्मातामा पुष्कर झा छन् । यसको कथा प्रस्तुतकर्ता रघु परियार स्वयंको हो । उनले लभस्टोरी कथामा पूर्ण कमर्सियल फिल्म निर्माण गर्न लागेको बताए ।

कार्यक्रममा उपस्थित हुन् नपाउँदा दुःख लागेको भिडियो सन्देश सुफिया सिद्दिकीले पठाएकी छन् । उनले नेपाली फिल्ममा काम गर्न पाउँदा आफू उत्साहित रहेको बताइन् । ‘मैले बलिउड र हलिउडको केही फिल्ममा काम गरेकी छु । यसपटक नेपाली–इन्डियन प्रोजेक्टमा जोडिन पाउँदा उत्साहित छु’ सुफियाले भिडियो सन्देशमा भनेकी छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board