फरार दुई अभियुक्त पक्राउ

सप्तरी, २८ भदौ । चोरी मुद्दामा सप्तरीको राजविराज नगरपालिका–६ बस्ने २१ वर्षीय गोपी भनिने किसन राउत मेहतर आज पक्राउ परेका छन् ।

सप्तरी जिल्ला अदालतबाट कैद सजाय ठहर भई फरार रहेका मेहतरलाई कैद भुक्तानका लागि राजविराज कारागार पठाइने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चोरी मुद्दामा अदालतबाट २०७८ चैत १४ गते उनलाई पाँच महिना कैद र पाँच हजार जरिबाना ठहर भएको थियो ।

आरोपितले २०७७ कात्तिक १९ गते सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठी बस्ने ३१ वर्षीय झौली कामैतको घरबाट खसी चोरेका थिए । यसैगरी सवारी ज्यान मुद्दामा फरार रहेका सप्तरीको सुरुङगा नगरपालिका–२ पिप्रा पश्चिमका ३५ वर्षीय शिवराज दाहाललाई समेत प्रहरीले पक्राउ गरेको छ ।

अदालतले विसं २०७५ चैत ३ गते दाहाललाई एक महिना १५ दिन कैद ठहर गरेको थियो । कैद ठहर गरी फैसला गरेपश्चात फरार रहेका दाहाललाई खोजतलासको क्रममा आज पक्राउ गरी कैद भुक्तानका लागि कारागार पठाउन लागिएको छ ।

उदयपुरगढी गाउँपालिका–७ की ३१ वर्षीय सुशीला तामाङले स१त ५५५९ नम्बरका ट्याक्टरधनी दाहालविरुद्ध उजुरी दिएका थिए । फैसला कार्यान्वयनअन्तर्गत गत वर्ष सप्तरी प्रहरीले चार सय चार जनालाई पक्राउ गरेको थियो । यसमा देवानी मुद्दाअन्तर्गत तीन सय ४७ र फौजदारी अपराधअन्तर्गत ५७ जना रहेका थिए ।

यस्तै आर्थिक वर्ष २०७८/७९ मा प्रहरीले एक सय तीन वर्ष ११ महिना २६ दिन कैद र १० लाख ८९ हजार एक सय २६ जरिबाना असुल गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति