चुनावकै मुखमा फेरिए गृहसचिव, सिंहले पाए जिम्मेवारी

काठमाडौँ, २८ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता लागु गर्ने तयारीसँगै सरकारले कर्मचारीको व्यापक सरूवालाई तीव्र पारेको छ ।

यसअघि खरिदारदेखि सहसचिवसम्मका कर्मचारीको सरूवा गरेको सरकारले सोमबार केही महत्वपूर्ण मन्त्रालयका केही सचिवहरू पनि सरूवा गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव टेकनारायण पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरूवा गरेर विनोदप्रकाश सिंहलाई गृहमा ल्याएको छ । सिंह प्रदेश नम्बर १ मा प्रमुख सचिव थिए ।

यसैगरी, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव तोयम रायलाई वाणिज्य तथा आपूर्ति मन्त्रालमा सरूवा गरिएको छ भने आपूर्ति मन्त्रालयका गणेश पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रामप्रसाद घिमिरेलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरूवा गरिएको छ । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रमुख प्रेम भट्टराईलाई हटाएको छ । उनको ठाउँमा प्रधानमन्त्री कार्यालयका ताराप्रसाद अधिकारीलाई ल्याइएको छ ।

आचारसंहिता लागु गर्ने तयारीसँगै डेढ सातायता करिब एक हजार कर्मचारी र तीन हजार प्रहरीको सरूवा गरिसकेको छ ।

सरकारले २५ भदौमा २६ जना सहसचिवहरूको सरूवा गरेको थियो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले २६ जना सहसचिवको सरूवा गरेका थिए ।

सरकारले यसअघि ४ भदौमा २४ जना सहसचिवको सरूवा गरेको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ तथा प्रदेश मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरूवा गरेको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत बिहीबार अन्तरस्थानीय तहका ८ सयभन्दा बढी कर्मचारीको एकैपटक सरूवा गरेको थियो ।

प्रहरी प्रधान कार्यालयले पनि यही भदौ १८ गते २ हजार ८८४ प्रहरी कर्मचारीको सरूवा गरिसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति