पूर्वन्यायाधीश समाजप्रति चोलेन्द्रको आरोप– ‘यो मण्डले समाज हो, मुद्दा, नियुक्ति र सरूवामा चासो राख्छ’

काठमाडौँ, २७ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्वन्यायाधीश समाज र यसको नेतृत्वबारे आपत्तिजनक टिप्पणी गरेका छन् ।

आफूविरूद्धको महाअभियोगको प्रस्तावमा जबाफ दिने क्रममा जबराले समाजलाई मण्डलेहरूले नेतृत्व गरेको आरोप लगाए । उनले ती समाज संवैधानिक र कानुन रूपमा कुनै हैसियत नभएका संस्थासमेत भएको दाबी गरे ।

जबराले भने, “पूर्वन्यायाधीश समाज र न्यायाधीश समाज भनेको हिजोका नेविसंघ र मण्डले जस्तै हुन् । पूर्वन्यायाधीश समाज भनेको मण्डले समाज हो । हिजोका मण्डले जति पनि न्यायाधीश भए तिनले नेतृत्व गरेका छन् । जस्तो टोपबहादुर सिंह । त्यसपछि ओझाजी उपाध्यक्ष हुनुहुन्छ, ऊ अर्को मण्डले हो । अर्को घनघोर मण्डले चाहिँ शम्भु खड्का हो । हामी न्यायाधीश बस्दा पनि मण्डले न्यायाधीश समाज भन्थ्यौँ । यसले विरोध गर्नुका कुनै कुरा छैन ।”

पूर्वन्यायाधीशले सधैँ आफूलाई बहालवाला सम्झेको आरोप जबराको छ । उनले पूर्वन्यायाधीशले मुद्दा, न्यायाधीश नियुक्ति र सरूवामा चासो राख्ने गरेको बताए ।

संवैधानिक, कानुनी रूपमा हैसियत नरहेको संस्थाले गैरकानुनी माग राख्न नपाउने उनले जिकिर गरे । पूर्वन्यायाधीशले न्यापालिकामा सिलो खोज्ने काम मात्र गरेको उनको भनाइ छ ।

उनले भने, “आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर गैरकानुनी माग राख्ने ? गैरकानुनी काम गर्ने ? यस्तोलाई त कानुनबमोजिम बन्द गर्नुपर्ने हो ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति