काठमाडौं । ‘मन्त्री भए पनि लाइनमा बस्नुस’ भन्ने एक सुरक्षा गार्डलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई शुक्राबर लाइनमा बस्नु भन्ने सुरक्षागार्ड शेरजंग गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
मन्त्री श्रेष्ठमाथि दुर्व्यवहार गरेको भन्दै ठमेलस्थित छाया सेन्टरका सुरक्षागार्ड शेरजंगलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले जानकारी दिए । ती सुरक्षागार्ड गरुड सेक्युरिटी कम्पनीका हुन् ।
छाया सेन्टरमा बायोमेट्रिक्सको कामका लागि मन्त्री श्रेष्ठ त्यहाँ पुगेका थिए । तर मन्त्री श्रेष्ठलाई पनि सुरक्षागार्डले लाइनमा बस्न भनेका थिए ।
मन्त्रीका पिएसओले उनी मन्त्री भएको बुझाउन प्रयास गर्दा पनि उनी नमानेको स्रोतले बतायो ।
उनले जो मानिस भए पनि लाइनमा बस्नु पर्ने बताएपछि त्यहाँ धकेलाधकेलको स्थिति बनेको प्रहरीको भनाइ छ । त्यसपछि पिएसओमार्फत् जाहेरी दिएर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।
प्रतिक्रिया