काठमाडौँ, १८ भदौ । आगामी निर्वाचनका लागि राजनीतिक दलका क्षेत्रीय समितिहरूले उम्मेदवार सिफारिस गर्न थालेका छन् । नेकपा (एमाले)का केही उम्मेदवार सर्वसम्मत सिफारिस भएका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि एमालेले भदौ २२ गतेसम्म उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिएको छ । त्यसअनुसार धमाधम उम्मेदवार सिफारिस भइरहेका छन् ।
एमालेले अनिवार्य रूपमा कम्तिमा एक जना महिलासहित बढीमा तीन जना उम्मेदवार सिफारिस गर्न भनेको छ । तर, केही निर्वाचन क्षेत्रबाट भने एक जना मात्रै उम्मेदवार सिफारिस भएका छन् ।
क्षेत्रीय कमिटीले गरेको सिफारिसमा जिल्लाले आफ्नो रायसहित प्रदेश कमिटीलाई पठाउने र प्रदेशले रायसहित केन्द्रमा पठाउने एमालेको सर्कुलर छ । क्षेत्रबाटै एक जनाको मात्र नाम सिफारिस भएको अवस्थामा विवाद भएको बाहेक जिल्ला र प्रदेशले अर्को नाम नथप्ने एमालेको नीति छ ।
यद्यपि तल्ला कमिटीबाट आएका सिफारिस अन्तिम भने हुने छैन । केन्द्रले आवश्यकताअनुसार हेरफेर गर्न सक्ने एमाले नेताहरू बताउँछन् । आमरूपमा सर्वसम्मत भएका नामको हकमा पार्टीमा विवाद नभएको अवस्थामा भने सोही कायम हुने जनाइएको छ ।
अहिलेसम्म सिफारिस भएका एमालेका सात जना उम्मेदवार बन्ने लगभग पक्का जस्तै भएको छ । जसमध्ये पाँच वटा काठमाडौँका निर्वाचन क्षेत्र रहेका छन् भने बाँकी पर्सा र बैतडीका रहेका छन् ।
एमालेबाट काठमाडौँ–२ मा मणिराम फुँयाल, काठमाडौँ–३ कृष्ण राई, काठमाडौँ ४ मा राजन भट्टराई, काठमाडौँ ५ मा ईश्वर पोखरेल र काठमाडौँ ८ मा राजेश शाक्यको नाम सर्वसम्मतिले सिफारिस भएको छ ।
यस्तै, बैतडीबाट दामोदार भण्डरा र पर्सा ३ बाट राजकुमार गुप्ताको नाम सिफारिस भएको एमालेले जनाएको छ ।
आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न एमालेका अधिकांश क्षेत्रीय र जिल्ला कमिटीको बैठक शनिबार र आइतबार बस्दै छ ।
प्रतिक्रिया