तनहुँ बस दुर्घटनाः घाइतेहरूकाे दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार, गम्भीरहरुलाई पोखरा लगियाे

तनहुँ, १३ भदौ । पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ करिब ५:५० बजेतिर बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । तनहुँको म्याग्दे गाउँपालिका –१ गुणादीमा दुर्घटना हुँदा सो सङ्ख्यामा घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख गोकर्ण नेपालले जानकारी दिएका हुन्।

बसमा करिब १९ जना सवार रहेकोमा १५ जनालाई चोटपटक लागेको छ । दुर्घटनामा स्याङजाको चापकोट –२ घर भई हाल कास्कीको पोखरा महानगरपालिका‍-७ बस्ने जिल्ला प्रशासनमा खरिदारमा कार्यरत २६ वर्षीय विवश आचार्य, शुक्लागण्डकी ६ बस्ने नेपाल टेलिकम तनहुँका चालक ३८ वर्षीय पवन कुमाल, सोही ठाउँ बस्ने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ३७ वर्षीय हरिता श्रेष्ठ सख्त घाइते भएका छन् ।

यसैगरी, सख्त घाइते हुनेहरुमा भिमाद नगरपालिका-२ बस्ने जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी २५ वर्षीय रुपा थापा, पोखरा महानगरपालिका-५ बस्ने जिल्ला प्रशासन कार्यालय तनहुँका खरिदार ३९ वर्षीय प्रेमकुमारी थापा, म्याग्दे गाउँपालिका-२ बस्ने ५८ वर्षीय अर्जुनसिंह घर्ती, पोखरा महानगरपालिका ३३ बस्ने ५५ वर्षीय जगन्नाथ आचार्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेको दमौलीस्थित रत्नहरी अस्पताल र गम्भीर घाइते हुनेहरुलाई थप उपचारका लागि पोखरा लगिएको छ । तनहुँमा कार्यरत कर्मचारीहरु चढेको उक्त बस ५ बजे मात्रै दमौलीबाट पोखरा गएको थियो ।

तीव्र गतिमा गुडेको बस ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको प्रहरीको अनुमान रहेकाे छ । बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति