काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाले नेकपा माओवादी केन्द्र र नेकपा एससित चुनावी तालमेल हुने सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
कांग्रेससँग सिट बार्गेनिङ गर्न माओवादी अध्यक्ष प्रचण्डले आइतबार एक कार्यक्रममा कांग्रेसले निहुँ खोजे बाम तालमेल गरेर जाने बताएको भोलिपल्ट नेता थापाले प्रचण्डलाई गतिलो जवाफ दिएका हुन् ।
सामाजिक सञ्जाल मार्फत सोमबार बिहान थापाले प्रचण्डको आइतबारको अभिव्यक्तिमा जावाफ फर्काउँदै ‘तरबार लिएर काट्न हिंडेकासँग एमालेजनले मित नलगाउने’ बताएका हुन् ।
आइतबार प्रचण्डले एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसले सम्मानजनक सिट नदिएमा गठबन्धनभित्रको बापन्थी र उस्तै परे एमालेसँग पनि चुनावी तालमेल हुनसक्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तमा जवाफ फर्काउदै पोलिटब्यूरो सदस्य थापाले प्रचण्ड र माधव नेपालका समुहसँग आम निर्वाचनमा मिलेर जाने संभावनालाई एमालेको केन्द्रीय कमिटी बैठकले नै खारेज गरेको जानकारी दिएका छन ।
उनले भनेका छन, ‘नेकपा (एमाले) केन्द्रीय कमिटीले प्रचण्ड र माधव नेपालका समुहसँग आम निर्वाचनमा मिलेर जाने संभावनालाई खारेज गरेको छ। यी दुई गुटले काङ्ग्रेससँग सिटको बार्गेनिङ गर्न एमालेसँग मिल्ने धम्की दिइरहेको कर्कश स्वर सुनिन्छ, जो सर्वथा मिथ्या र जालझेल मात्रै हो। तरबार लिएर काट्न हिंडेकाहरूसँग एमालेजनहरूद्वारा मित लगाउन सकिँदैन।’
प्रतिक्रिया