फिनल्यान्डकी प्रधानमन्त्रीको समर्थनमा हिलारीले पनि पोस्ट गरिन् नाचेको फोटो

काठमाडौँ, १३ भदौ । एउटा डान्स पार्टीमा अस्वभाविक रुपमा नाचेपछि विवादित बनेकी फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिनको दिनहुँ समर्थन बढ्दो छ । पछिल्लो पटक अमेरिकी राष्ट्रपति पदकी पूर्वउम्मेदवार हिलारी क्लिन्टनले आइतबार समर्थन जनाएकी छन् ।

विदेशमन्त्री हुँदा सन् २०१२ मा कोलम्बिया भ्रमणको क्रममा एक भिडभाड क्लबमा ठुलो मुस्कानसहित नाचेको आफ्नो तस्बिर राख्दै उनले ट्वीटरमा लेखेकी छन्, ‘नृत्य जारी राख्नुहोस्, सान्ना मारिन ।’

हर्टको इमोजिसहित मारिनले तुरुन्तै जबाफ दिइन्, ‘धन्यवाद हिलारी क्लिन्टन ।’ केही दिनअघि लिक भएको भिडियोमा मारिनले साथीहरू र सेलिब्रेटीहरूको समूहसँग नाच र पार्टी गरिरहेको देखाइएको छ ।

उक्त भिडियो प्रधानमन्त्रीको लागि अनुपयुक्त भएको उनका विरोधीहरूले आलोचना गर्दै आएका छन् । तर, उनको पनि व्यक्तिगत जीवन भएको भन्दै कतिपयले ३६ वर्षीय प्रधानमन्त्रीको बचाउ गरेका छन् । प्रधानमन्त्रीमाथि लागुऔष सेवनको आरोप लगाइएको थियो । सो आरोप पुष्टि गर्न उनले ड्रग टेस्ट गरेकी थिइन् । उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

उनको भिडियो भाइरल भएपछि उनको सिको गर्दै विश्वभरका महिलाले नाचेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । यसअघि अष्ट्रेलियाकी सांसदले पनि मारिनको समर्थनमा नाचेको तस्बिर पोस्ट गरेकी थिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति