काठमाडौँ, ११ भदौ । अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गरेर सुझाव दिन नेकपा (एमाले)ले ९ वटा समूह बनाएको छ ।
शुक्रबारदेखि सुरू केन्द्रीय कमिटी बैठकमा ओलीले पेस गरेको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमाथि छलफल गरेर सुझाव दिनका लागि ती समूह बनाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।
रिजालका अनुसार सातवटा प्रदेश, जनसंगठन र प्रवाससहितबाट फरक–फरक समूह बनाइएको हो ।
ओलीको प्रतिवेदनमाथि ९ समूहले दिएको सुझावलाई समेट्दै शनिबार बैठक सकिने रिजालले बताए । रिजालका अनुसार यी समूहका टोली नेतामा सम्बन्धित प्रदेशका अध्यक्षलाई तोकिएको छ ।
अध्यक्षको राजनीतिक प्रतिवेदनका साथै अमृत बोहरा, अनुशासन आयोगको प्रतिवेदन, लेखा आयोग, सल्लाहकार परिषद्को प्रतिवेदनमाथि पनि छलफल हुने छ ।
प्रतिक्रिया