काठमाडौँकाे विभिन्न स्थानमा गाडी तोडफोड, १६ जना बन्दकर्ता पक्राउ

काठमाडौँ, ७ भदौ । काठमाडौँमा बन्द गराउँदै हिँडेका १६ जना बन्दकर्ता पक्राउ परेका छन् । काठमाडौँ प्रहरी परिसर काठमाडौँका अनुसार उनीहरूलाई उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

बन्दकर्ताले कोटेश्वरमा महानगर यातायात र थापागाउँमा नेपाल यातायातको गाडी तोडफोड गरेका छन् । बिहान साढे ६ बजे कोटेश्वरमा महानगर यातायातको बा४च ९३९४ नम्बरको बस तोडफोड गरेको थियो । यस्तै, करिब ८ बजे थापागाउँको पाठशाला स्कुलनजिक नेपाल यातायातको बा४ख ९०१९ नम्बरको बस तोडफोड भएको छ ।

यसैगरी डिल्लीबजारको सफ्टवारिका कलेज पनि तोडफोड भएको काठमाडौँ परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले बताए ।

आज नेत्रवित्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले बन्दको आह्वान गरेका हुन् ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको एमसीसी सम्झौता, विप्लव नेतृत्वको नेकपासँग भएको ३ बुँदे सहमतिविपरीत सरकारले पक्राउ पुर्जी जारी गरेको र भ्रष्टाचार तथा महँगी बढिरहेको भन्दै त्यसविरूद्ध बन्द आह्वान गराएको मोर्चाले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति