गृहमन्त्रीका पिएसओ सुन तस्करीमा मुछिए, गौशाला वृत्तका डीएसपीमाथि पनि छानविन हुने

काठमाडौ । गृहमन्त्री बालकृष्ण खाणका व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) टंक कार्की सुन तस्करी विवादमा मुछिएका छन् । तस्करीको सुन लुकाएको आरोपमा वरिष्ठ सई कार्कीले एक व्यक्तिलाई थुनाएर पैसा लिएको आरोप लागेको छ ।

प्रहरी बृत्त गौशालाको हिरासतमा थुनेर रकम असुली गरेको अभियोग लागेका वरिष्ठ सई कार्कीलाई पिएसओबाट हेडक्वार्टर फिर्ता बोलाइसकेको छ । उनीमाथि छानविन सुरु भइरहेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयको उजुरी छानविन शाखाले उनीमाथि छानबिन थालिसकेको छ । गत गत असारमा दुबईबाट आएका पाँच व्यक्तिले ५० ग्रामका दरले ल्याएको सुन फिर्ता नगरेपछि भएको विवादमा गृहमन्त्रीका पिएसओ जोडिएका हुन् ।

जसमा उनले चितवनका एक व्यक्तिलाई पक्राउ गरी त्यो सुन बराबरको पैसा फिर्ता दिन दबाब दिएका हुन् । करिब २० लाख रुपैयाँ बराबरको तस्करीको सुन चार जनाले गायब बनाएपछि तस्करका नाइकेले गृहमन्त्रीका पिएसओ कार्कीलाई प्रयोग गरी सार्वजनिक मुद्दामा थुनाएर पैसा असुल गरेका हुन् । तर, सुन तस्करी गर्ने व्यक्तिमाथि छानबिन सुरु भएको छैन ।

सुन तस्करीको भएकाले कतै उजुरी पनि नपर्ने भन्दै दुबईबाट आएका युवकहरुले गायब बनाउन खोजेको आरोप छ । तर, तस्करीमा संलग्न समूहको प्रहरी अधिकारीसँग समेत सेटिङ भएकाले उनीहरुले यसरी थुनाएर पैसा असुल्न खोजेका हुन् ।

सो घटनामा गौशाला वृत्तका तत्कालिन डिएसपी केशब भट्टराईमाथि पनि छानबिन गर्ने तयारीमा प्रहरी प्रधान कार्यालय छ ।

हिरासतमा रहेका थुनुवालाई दवाव दिएर चेक काट्न लगाउनेसम्मको काम वृत्त प्रमुखको जानकारी विना सम्भव नहुने भन्दै डिएसपी भट्टराईमाथि पनि छानविन गरिने भएको छ । उनले भने आफू सो घटनामा संलग्न नरहेको बताउने गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति